June 25th, 2019

नेपाल टेलिभिजन न्यूजमा विशुद्ध बैंकिङ सम्बन्धि कार्यक्रम आरम्भ

 

बैंकिङ खबर । नेपालको सबै भन्दा ठुलो टेलिभिजन प्रशारण संस्था सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा बैंकिङ सम्बन्धी कार्यक्रम प्रशारण हुने भएको छ । ‘बैंकिङ सम्बन्धि सम्पूर्ण समस्याको समाधान’ भन्ने मूल नाराका साथ स्थापित बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालिले साप्ताहिक टेलिभिजन कार्यक्रम बैंकिङ सेरोफेरो नेपाल टेलिभिजन न्यूजमा प्रशारण सुरु गरेको हो ।

उक्त कार्यक्रम नेपाल टेलिभिजन न्यूज एचडी च्यानलमा प्रत्येक बुधबार बेलुकी ८ः५० बजे प्रशारण हुनेछ । कार्यक्रममा बैंक तथा वित्तीय संस्था सम्बन्धि विशेष सामाग्रीहरु प्रस्तुत जनाईएको छ । ‘बैंकिङ परिचय’ र ‘बैंकिङ साक्षात्कार’ गरी दुई स्तम्भ रहेको उक्त कार्यक्रममा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न अग्रज व्यक्तित्वहरुसँगको अन्तरवार्ता प्रस्तुत हुनेछ भने कुनै एक बैंक तथा वित्तीय संस्थाको परिचय समेत प्रशारण हुनेछ ।

कार्यक्रमको पहिलो भागमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाललाई प्रस्तुत गरिएको छ । केहि समयभित्र आउन लागेको मौद्रिक नीति, बजारमा चलेको बिग मर्जरको चर्चा, पूँजीवृद्धिको प्रभाव लगायतका विषयमा कार्यक्रमको पहिलो अंकमा गभर्नर नेपालसँग कुराकानी गरिएको छ । साथै बैंकिङ परिचय अन्तर्गत कार्यक्रमको पहिलो भागमा नेपाल राष्ट्र बैंकको परिचयात्मक सामाग्रीसमेत प्रशारण हुनेछ ।

बैंकिङ साक्षरता फैलाउने र बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुराहरुलाई जनता समक्ष ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम निर्माण गरिएको कार्यक्रमका निर्माता रंघम राज अर्यालले बताएका छन् । उक्त कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रमै अहिले पूर्ण रुपमा बैंकिङ सम्बन्धि एकमात्र कार्यक्रम रहेको कार्यक्रम प्रस्तोता मनोज पौड्यालको दावी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]