समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई खारेजी गरिने भएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी लामो समय दिँदा सुधार नदेखिएका संस्थालाई खारेजी गर्न लागेको हो । समस्याग्रस्त वित्तीय संस्था बढ्दै गएपछि केन्द्रीय बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरी यस्ता संस्थाको निगरानी गर्दै आएको छ ।
राष्ट्र बैंकले हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा हालसम्म नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड डेभलपमेन्ट बैंक र हिमालयन फाइनान्स खारेजीमा गइसकेका छन् । बाँकी १३ वटा वित्तीय संस्थामध्ये हालै गोर्खा डेभलपमेन्ट बैंक काष्ठमण्डम फाइनान्समा विलय भएको छ । अब समस्याग्रस्त घोषणा भएका ११ वटा संस्थामध्ये २ वटा विकास बैंक र ९ वटा फाइनान्स कम्पनी छन् । समस्याग्रस्त घोषणा गर्दा ती वित्तीय संस्थामा ११ अर्व १९ करोड निक्षेप थियो । यस्तै समस्याग्रस्त संस्थाले ६ अर्ब ७६ करोड ऋण असुली गर्न बाँकी छ ।
समस्याग्रस्त वित्तीय संस्थामध्ये सुधार हुन नसक्ने संस्थालाई खारेजीमा लैजानका लागि समस्याग्रस्त संस्था रिजोलुसन महाशाखालाई फाइल उठाउन निर्देशन दिइसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्थाहरूमध्ये कतिवटा कम्पनी खारेजीमा लैजाने भन्नेबारे महाशाखाको रिपोर्ट आएपछि थाहा हुनेछ ।