कृषि विकास बैंकले चालू आर्थिक बर्षभित्रै २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अनुसार २०७४ आषाढ मसान्तसम्म साधारण चुक्ता पूंजी न्यूनतम ८ अर्ब रुपैँया कायम गर्न बैंकले हकप्रद शेय जारी गर्न लागेको हो । यसका साथै, बैंकले २० प्रतिशत बोनस शेयर समेत प्रदान गर्ने जनाएको छ । आ.व. २०७३/७४ मा २० प्रतिशत वोनस शेयर प्रदान गरी तोकिएको चुक्ता पुँजी कायम गर्ने योजना रहेको बैंकका सीईओ लिला प्रकाश सिटौलाले बताए ।
बैंकले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा १ अर्ब ७७ करोड मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा २४ करोड बढी मुनाफा कमाएको हो । बैंकद्धारा प्रकाशित पछिल्लो अवधिको वित्तीय विवरण अनुसार बैंकको समग्र वित्तीय परिसूचकहरु सकारात्मक रहंदै आएको छ भने सम्पूर्ण ग्राहकहरुलाई सघन, विस्तृत, दिगो र भरपर्दो बैंकिंग सेवा उपलब्ध गराउंदै शेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्न समेत प्रतिवद्ध रहेको छ ।
बैंकको २०७२ चैत्र महिनासम्मको तथ्यांक अनुसार निक्षेप ८३ अर्व ५१ करोड तथा कर्जा लगानी ७८ अर्व १० करोड पुगेको छ । त्यसैगरी सोही अवधिमा बैंकको पूंजी कोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत तथा प्रतिशेयर आम्दानी ३१.२७ रुपैँया रहेको छ । निरन्तररुपमा प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्दै आएको बैंकले शेयरधनीहरुलाई आ.व. २०६९/७० मा ३१.५८ प्रतिशत नगद लाभांश, आ.व.२०७०/७१ मा ८.७९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनश शेयर प्रदान गरेको छ भने पछिल्लो आ.व. २०७१/७२ को स्वीकृत १५ प्रतिशत वोनश शेयर साधारण सभाबाट अनुमोदन भई वितरणको प्रक्रियामा रहेको छ ।
लामो समयसम्म विकास बैंकको रुपमा विभिन्न सरकारी कार्यक्रम संचालन गर्दै आएको कृषि विकास बैंकले वाणिज्य बैंकमा रुपान्तरण भएपछि निरन्तर रुपमा आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै आएको सीईओ सिटौलाले बताए ।