May 19th, 2019

उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा र कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा पुरस्कार वितरण

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आ.व. २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले पुरस्कार वितरण गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट कार्य सम्पादन गरे वापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु १० हजारदेखि रु ३० हजार सम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।

उत्कृष्ट कार्य गर्ने पांच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरीयो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनु पर्ने विचार ब्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडि बढ्दै हरेक क्षेत्रमा आफुलाई सक्षम साबित गरेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]