May 15th, 2019

गरिमा विकास बैंकको बीरगञ्ज शाखाको औपचारिक उद्घाटन, छिटै १५ शाखा खोल्ने

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा विस्तार गरिएको शाखाबाट देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको जानकारी दिँदै आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कुरामा विश्वस्त पारे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा, बीरगञ्ज नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर ७६ शाखा विस्तार गरिसकेको छ । जसमध्ये, आठ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । यसबाहेक, बैंकले ३१ वटा एटीएमबाट पनि सेवा दिइरहेको छ । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]