June 10th, 2016

भूकम्पपीडितलाई बैंकमार्फत अनुदान दिलाउन लागिपर्यो प्राधीकरण

victimsराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पीडितलाई बैंकमार्फत अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिएको छ । प्राधीकरणले १ लाख ७१ हजार ६ सय ७७ भूकम्प प्रभावित घरधनीलाई बैंकमार्फत वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई निर्देशन दिएको हो । 

प्राधिकरणले नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसिएसनसँग सम्झौता गरी बैंक तथा वित्तीय संस्थामार्फत अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाएको छ । प्राधिकरण र ३ वटा बैंकर्स एसोसिएसनबीच भएको समझदारीपत्रअनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ । समझदारी पत्रअनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई स्थानीय स्तरमा जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकहरूसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।