Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

व्यापार घाटा थप चुलियो, विदेशी विनिमय संचिति घट्दो

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्त सम्मको मुलकको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड मात्र रहेको थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो घाटा १ अर्ब ५१ करोड रहेको चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ६८ करोड पुगेको छ ।
यस्तै समीक्षा अवधिमा शोधनान्तर घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर घाटा २४ अर्ब ७३ करोड र चालु आर्थिक वर्षको माघ मसान्तमा ४९ अर्ब रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको पहिलो आठ महिनाको शोधनान्तर घाटा अमेरिकी डलरमा २४ करोड १४ लाख रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।

आठ महिनाको अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ९४ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११०२ अर्ब ५९ करोड रहेकोमा २०७५ फागुन मसान्तमा १०६१ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रुपैयाँ रहेकोमा २०७५ फागुन मसान्तमा ९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९८९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७५ फागुन मसान्तमा ९१४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा २०७५ फागुन मसान्तमा रु.१४७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । २०७५ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५÷७६ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.३ प्रतिशत, ६६.१ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।