Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

३४ अर्ब तरलता हुँदा समेत केही बैंक सिसिडी समस्यामा, अन्तर बैंक ब्याजदर बढ्यो

२०७५ चैत्र ११ गते

बैंकिङ खबर। बैंक तथा वित्तीय संस्थामा फेरी कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो)मा दबाब देखिएको छ । वित्तीय प्रणालीमा निक्षेप बढन नसकेको र कर्जाको माग उच्च भएपछि केही साना बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । स्रोतका अनुसार सिसिडीमा दबाब देखिएपछि बैंकहरु अन्तर बैंक सापटीबाट सिसिडी व्यवस्थापन गर्न लागेका छन् । जसले गर्दा अन्तर बैंक सापटीमा पनि दबाब बढेको छ ।

पछिल्लो समय वित्तीय बजारमा ३४ अर्ब तरलता रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । तर केही बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको कारण अन्तर बैंक कारोबार बढेको हो । अन्तरबैंक सापटी पनि बढेपछि त्यसको ब्याजदर ५ दशमलव ५६ प्रतिशत पुगेको छ । अन्तर बैंक बयाजदर ५ प्रतिशत भन्दा माथि पुगेमा राष्ट्र बैंकले वित्तीय संस्थामा तरलता पठाउने गर्छ । सोही अनुसार बजारमा रिपो मार्फत तरलता प्रवाह गरेको स्रोतले जनाएको छ ।

तर अहिले बैंक तथा वित्तीय संस्थामा समग्रमा ७८ प्रतिशत सिसिडी भएपनि केही बैंकहरुको सिसिडी ८० प्रतिशतको हाराहारीमा पुगेपछि बैंकर्सहरुले अन्तर बैंक सापटीको माग बढाएका छन् । जसले गर्दा अन्तरबैंक ब्याजदर उच्च भएको हो । बैंकर्सहरुले सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी सहजै पाउन नसकिने बताएका छन् । केन्द्रिय बैंकले अन्तर बैंक सापटीबाट पनि सिसिडी गणना गर्न सकिने व्यवस्था गरेपछि बैंकहरुले आफुसँग भएको सबै पैसा लगानी गर्ने र महिनाको एकपटक अन्तर बैंक कारोबारबाट सिसिडी व्यवस्था गर्ने गरेका थिए । तर पछिल्लो समय सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी पाउन छाडेपछि केही बैंकहरु समस्यामा परेको स्रोतको भनाई छ ।

एक साता यता वाणिज्य बैंकहरुमा करिब २७ खर्ब निक्षेप संकलन भएको छ भने २४ खर्ब कर्जा लगानी भएको छ । तर केहीय साना बैंक अहिले पनि लगानी योग्य रकम नहुँदा सिसिडी व्यवस्थाका लागि अन्तर बैंक कारोबारको माग बढाउन खोजेको देखिन्छ ।

लगानी योग्य रकममा मजबुत देखिएका बैंकहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्टान्डर्ड चार्टड बैंक लगायतका बैंकहरु छन् । कृषि विकास बैंकमा पनि अहिले तरलता केही सहज देखिएको छ ।