March 25th, 2019

३४ अर्ब तरलता हुँदा समेत केही बैंक सिसिडी समस्यामा, अन्तर बैंक ब्याजदर बढ्यो

बैंकिङ खबर। बैंक तथा वित्तीय संस्थामा फेरी कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो)मा दबाब देखिएको छ । वित्तीय प्रणालीमा निक्षेप बढन नसकेको र कर्जाको माग उच्च भएपछि केही साना बैंकहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । स्रोतका अनुसार सिसिडीमा दबाब देखिएपछि बैंकहरु अन्तर बैंक सापटीबाट सिसिडी व्यवस्थापन गर्न लागेका छन् । जसले गर्दा अन्तर बैंक सापटीमा पनि दबाब बढेको छ ।

पछिल्लो समय वित्तीय बजारमा ३४ अर्ब तरलता रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । तर केही बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको कारण अन्तर बैंक कारोबार बढेको हो । अन्तरबैंक सापटी पनि बढेपछि त्यसको ब्याजदर ५ दशमलव ५६ प्रतिशत पुगेको छ । अन्तर बैंक बयाजदर ५ प्रतिशत भन्दा माथि पुगेमा राष्ट्र बैंकले वित्तीय संस्थामा तरलता पठाउने गर्छ । सोही अनुसार बजारमा रिपो मार्फत तरलता प्रवाह गरेको स्रोतले जनाएको छ ।

तर अहिले बैंक तथा वित्तीय संस्थामा समग्रमा ७८ प्रतिशत सिसिडी भएपनि केही बैंकहरुको सिसिडी ८० प्रतिशतको हाराहारीमा पुगेपछि बैंकर्सहरुले अन्तर बैंक सापटीको माग बढाएका छन् । जसले गर्दा अन्तरबैंक ब्याजदर उच्च भएको हो । बैंकर्सहरुले सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी सहजै पाउन नसकिने बताएका छन् । केन्द्रिय बैंकले अन्तर बैंक सापटीबाट पनि सिसिडी गणना गर्न सकिने व्यवस्था गरेपछि बैंकहरुले आफुसँग भएको सबै पैसा लगानी गर्ने र महिनाको एकपटक अन्तर बैंक कारोबारबाट सिसिडी व्यवस्था गर्ने गरेका थिए । तर पछिल्लो समय सिसिडी व्यवस्थापनका लागि अन्तर बैंक सापटी पाउन छाडेपछि केही बैंकहरु समस्यामा परेको स्रोतको भनाई छ ।

एक साता यता वाणिज्य बैंकहरुमा करिब २७ खर्ब निक्षेप संकलन भएको छ भने २४ खर्ब कर्जा लगानी भएको छ । तर केहीय साना बैंक अहिले पनि लगानी योग्य रकम नहुँदा सिसिडी व्यवस्थाका लागि अन्तर बैंक कारोबारको माग बढाउन खोजेको देखिन्छ ।

लगानी योग्य रकममा मजबुत देखिएका बैंकहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्टान्डर्ड चार्टड बैंक लगायतका बैंकहरु छन् । कृषि विकास बैंकमा पनि अहिले तरलता केही सहज देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]