June 6th, 2016

बढ्दै म्यादी जीवन बिमाको हिस्सा

bideshसरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बिमालाई अनिवार्य गराएपछि म्यादी जीवन बिमा गर्ने संख्या उल्लेख्य रुपमा बढेको पाइएको छ । जीवन बिमा कम्पनिहरुले जारी गरेका बिमा योजनाहरुमध्ये म्यादी जीवन बिमा योजना हिस्सा मात्रै ७७ प्रतिशत देखिएको छ । 

बिमा समितिका अनुसार हाल सञ्चालनमा रहेका ९ वटा जीवनबिमा कम्पनिहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १० लाख २६ हजार ४ सय ३६ बिमालेख जारी गरेकोमा ७ लाख ९३ हजार १ सय ५६ बिमा लेख म्यादी जीवन बिमाका मात्रै छन् । सो अवधिमा सावधिक जीवन बिमा योजनामा १ लाख ६१ हजार ४ सय ५ बिमा लेख जारी भएको छ । जसमध्ये, १ लाख ९ हजार ५ सय ४५ सावधिक जीवन बिमालेख १७ हजार ७ सय १० अग्रिम भुक्तानी सावधिक जीवन बिमालेख र ३४ हजार १ सय ५० रुपान्तरित सावधिक जीवन बिमा लेख जारी भएको छ । यो संख्या कुल बिमा योजनाको करिब १६ प्रतिशत हो । त्यस्तै, अन्य बिमा योजना भने ७१ हजार ८ सय ७५ जारी भएका छन् । आजीवन बिमा योजना भने एउटा पनि जारी भएको छैन ।