June 3rd, 2016

जलविद्युत् आयोजनामा शेयर किन्नेको ताँती

hydroरुपा कोइराला । जलविद्युत् कम्पनिहरुको शेयरमा लगानीकर्ताको आकर्षण अत्याधिक बढ्न थालेको छ । पछिल्लो समयमा निष्काशन भएका शेयरहरुमा सर्वसाधारणको अत्याधिक घुइँचो देखिएको छ । एकपछि अर्को गर्दै जलविद्युत् कम्पनिहरुले शेयर निष्काशन गरिरहँदा हरेकमा मागभन्दा निकै बढी आवेदन पर्न थालेका छन् । कुनैको शेयरमा धेरै आवेदन पर्दा आवेदन फारमको नै अभाव समेत भयो भने कुनैको निष्काशन सकिने मितीभन्दा अगावै निष्काशन बन्द गर्ने अवस्था आयो । नेपाल राष्ट्र बैँकले पुँजी वृद्धिको योजना ल्याएसँगै बैँक तथा वित्तीय संस्थाले पनि शेयर निष्काशन गरिरहेका छन् । तर, वित्तीय संस्थाहरुको शेयर सबै विक्रि नहुँदा बोलकबोलमा विक्रि गर्नुपर्ने अवस्था समेत देखिँदा जलविद्युत् क्षेत्रमा भने सर्वसाधारणको भीड लाग्ने गरेको छ । 

जेठ १६ देखि १९ गतेसम्म निष्काशन भएको खानी खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन पर्यो । शेयर निष्काशन भएको दोस्रो दिनमा नै अत्याधिक आवेदन परेपछि शेयर निष्काशनको अवधि नसकिँदै निष्काशन बन्द गरियो । सो शेयरका लागि समग्रमा १ लाख ३५ हजार वटा आवेदन परेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार शेयरका लागि ७३ गुणा बढी आवेदन परेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता शेयर निस्कासन गरेको थियो । निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको थियो । बाँकी रहेको शेयरका लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।

यसअघि, अरुण काबेली पावर लिमिटेडद्धारा जारी ’काबेली बि वान’ को शेयर किन्न जनसागर नै उर्लिएको थियो । सो शेयरमा लगानीकर्ताको आकर्षण यतिसम्म देखियो शेयर खरिद फारम वितरण गर्ने बैँकमा फारमको नै अभाव सिर्जना भयो । थापाथली काठमाडौंमा रहेको अरुण काबेली पावर लिमिटेडले १५ लाख साधारण शेयर विक्रिका लागि आवेदन खुला गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गा.वि.स तथा ताप्लेजुङ्ग जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र नाक्सिबोटे गा.वि.स को लागि ६ लाख कित्ता शेयर छुट्याएको थियो । पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि भने ९ लाख कित्ता साधारण शेयर छुट्याइएकोे थियो । 

त्यस्तै, ङादी ग्रुप पावरको साधारण शेयरमा पनि ८५.७२ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले गत चैत २१ देखि चैत २५ सम्म साधारण शेयर निष्काशन गरेको थियो । कम्पनिले निष्काशन गरेको कुल ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर मध्ये ४८ हजार ६ सय ८६ कित्ता सामुहिक लगानी कोषहरुलाई तथा १९ हजार ४ सय ७४ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडेर बाँकी रहेको ९ लाख ५ हजार ५ सय ७७ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

किन बढ्यो यसरी आकर्षण ?
प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरेर मुलुकलाई उर्जामा आत्मनिर्भर बनाउने घोषणा गरेपछि त्यसको प्रभाव जलविद्युत् कम्पनिहरुको शेयरमा देखिएको पाइएको छ । त्यस्तै, समयमै बजेट आउने कुराले नै सकारात्मक बनेका लगानीकर्ता जलविद्युत्लाई बजेटको प्राथमिकतामा राखिएपछि झनै उत्साहित बनेका छन् । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सर्वसाधारणलाई सरकारले निर्माण गर्ने आयोजनाहरुमा ४९ प्रतिशतसम्म शेयर दिने उल्लेख गरिएको छ । सरकारले आगामी आर्थिक बर्षबाट लागू हुने गरी ल्याएको ’घर घरमा बिजुली जन जनमा सेयर’ कार्यक्रम अन्तर्गत सर्वसाधारणको सहभागिता बढाउनका लागि सर्वसाधारणले पाउने शेयर बढाएको जनाएको छ । हाल सरकारी तथा निजी क्षेत्रले बनाएको आयोजनामा ३० प्रतिशतसम्म सेयर पाइन्छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित वासिन्दाले पाएपछि बाँकी २० प्रतिशतमा अन्य सर्वसाधारणले लगानी गर्न पाउँछन् । सरकारले ४९ प्रतिशत शेयर लगानी गर्न दिइने केही योजनाहरुको नामै किटान गरेको छ । जसअन्तर्गत तमोर, सुनकोशी, दूधकोशी, ठोसे खिम्ती शिवालय, नौमुरे, शारदा बबइ, नलसिं गाड, उत्तरगंगा लगायत छन् । सरकारले यि आयोजना निर्माण तथा विकास गर्नका लागि अर्को जलविद्युत कम्पनी स्थापनासमेत गर्ने भएको छ । अहिले जलविद्युत विकास कम्पनीले जलविद्युत् विकासका लागि काम गर्दै आएको छ । सरकारको यस योजनाले पनि जलविद्युत्को शेयरप्रति सर्वसाधारणको आकर्षणलाई थप हौसला प्रदान गरेको छ । 

अब निष्काशन हुने शेयरमा के होला ?
असार १ गतेदेखि रिडी हाइड्रोपावरको कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत् १० बराबर ३.५ का दरले ११ लाख ५५ हजार कित्ता सेयर निष्काशन गर्दैछ । त्यस्तै, सिईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि  १ सय रुपैँया अंकित १७ करोड ६१ लाख बराबरका १७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्दैछ । वर्तमान अवस्थालाई नियाल्दा छिटै नै शेयर जारी हुन लागेका यी कम्पनिहरुको शेयरमा पनि लगानीकर्ताको राम्रै आकर्षण रहने अनुमान लगाउन गाह्रो छैन । यद्यपि, लगानीकर्ताको यो उत्साह कहिलेसम्म हो भन्ने कुरा भने यकिन भन्न सकिँदैन ।