शेयर धितो कर्जामा अब कडाइ गरिने भएको छ । शेयर बजार उच्च विन्दुमा पुगेसँगै यस क्षेत्रमा प्रवाह भएको कर्जामा जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैँकले कडाइ गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा बढाउँदा धितोपत्र बजारमा समेत अनावश्यक चलखेल भएको भन्दै केन्द्रीय बैंकले यसलाई सच्याउन खोजेको बताइएको छ ।
राष्ट्र बैंकका अधिकारीहरुले धितोपत्रको दोस्रो बजार निरन्तर बढ्नुमा शेयर धितो कर्जामा रहेको खुकुलो नीति नै प्रमुख कारण रहेको विश्लेषण गरेका छन् । बैंकले शेयर धितो कर्जा दिँदा १ सय ८० कार्यदिनको औसत मूल्यको ५० देखि ६० प्रतिशतसम्म मात्र धितो राखी कर्जा दिने व्यवस्था गर्न लागेको छ । अहिले बैँक तथा वित्तीय संस्था आफैँले जोखिम हेरेर १ सय ८० दिन औसत मूल्यको ८० प्रतिशतसम्म कर्जा दिँदै आएका छन् । बैंकहरुले संस्थापक शेयर धितोमा भने ५० प्रतिशत मात्र कर्जा दिने गरेका छन् । यस्तै, ऋणीलाई शेयर धितो कर्जामा सीमा लगाउने विषयमा समेत छलफल सुरु भएको छ ।
शेयर कर्जाको जाखिम बढेपछि यससम्बन्धमा अध्ययन गर्न राष्ट्र बैंकले समिति समिति पनि गठन गरेको छ । अधिक कर्जाका कारण शेयर बजारमा बबलको स्थितिआउन सक्ने सम्भावनालाई नियन्त्रण गर्न समेत केन्द्रीय बैंक रहेको बताइएको छ । यस्तो कर्जा शेयर बजारको उतारचढावअनुसार राष्ट्र बैंकले खुकुलो र कसिलो गर्दै आएको छ ।
बैँक तथा वित्तीय संस्थाबाट सहज कर्जा पाउन थालेपछि शेयर बजार निरन्तर बढेर १५१८ अंकमा पुगेको छ । कारोबार रकम पनि अरेक दिन अर्बमाथि हुने गरेको छ । बैँक तथा वित्तीय संस्थाबाट अन्य शीर्षकमा कर्जा लिएर शेयर बजारमा लगानी गर्ने प्रवृत्ति समेत देखिएपछि केन्द्रीय बैंक थप सजग भएको हो ।