June 3rd, 2016

साताभर चर्चामा रहेका बैँकिङ गतिविधिहरु

Pen on coins backgroundहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । साताभर बजेटकै चर्चा बढी भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बजेट र यसको विश्लेषण
गत शनिबार सार्वजनिक भएको बजेटको चर्चा साताभर नै भयो । बजेटबारे विभिन्न विश्लेषणहरु भए । बजेट सुन्दा राम्रो लाग्ने र आकारमा ठूलो भएतापनि कार्यान्वयनमा चुनौती रहेको चौतर्फी टिप्पणीहरु आए । 

शेयर निष्काशन
रिलायबल डेभलपमेण्ट बैंकको १० प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकबाट पारित भयो । यसै साता सिटिजन्स बैंकले हकप्रद शेयर निष्काशनको मिती असार ५ गतेका लागि तय गर्यो । काबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सार्यो । खानी खोला जलविद्युत् कम्पनिको शेयर निष्काशन यसै साता यसै साता सकियो । त्यस्तै, इन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकले शेयरधनीहरुलाई बोनस शेयर प्रमाणपत्र वितरण पनि यसै साता गर्यो । सेवा विकास बैंक लिमिटेडको हकप्रद शेयर साधारणसभाले पारित गर्यो । साताको सोमबारदेखि अरुण काबेली पावर लिमिटेडको साधारण शेयरको आवेदन बन्द भयो ।

मर्जर तथा एक्विजिसन
सनराइज बैंक लिमिटेडको विशेष साधारणसभाले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्यो । काष्ठमण्डप डेभलमपेन्ट बैंक र महाकाली विकास बैंकबिच खरीद बिक्री सम्झौता भयो । कामना विकास बैंक र कास्की फाइनान्सको मर्जर प्रक्रिया यसै साता टुंगियो । रुपन्देहीको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंकको मर्ज प्रक्रिया यसै साता पूरा भयो । बैंक अफ काठमाण्डू लिमिटेडको २१ औँ वार्षिक साधारणसभाले २६ प्रतिशत बोनस शेयर वितरणसम्बन्धि प्रस्ताव परिव साताको सोमबार पारित गर्यो । सोही दिनदेखि दुई विकास बैंक र एक फाइनान्स कम्पनी गाभिएर कैलाश विकास बैकको नाममा एकिकृत कारोबार सुरु गरे । 

सम्झौता
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले भार्गव विकास बैंक नेपाल लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । गत वर्ष बैशाख १२ गते गएको बिनाशकारी भूकम्पका कारण घर भत्किएकाहरुको पुनर्निर्माणको लागि सरकारले दिने अनुदान रकम वितरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र विभिन्न २९ वटा बैंकसंग समझदारी भयो ।

शाखा तथा सेवा विस्तार
साताको सोमबारदेखि नेपाल बैंक लिमिटेडले आफ्नो ठिमी शाखामा पनि एटीएम सेवा सञ्चालनमा ल्यायो । साताको विहिबार एभरेष्ट बैंकले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खड्मा शाखा सञ्चालनमा ल्यायो । 

नेपाल राष्ट्र बैँक
गभर्नर डा. चिरञ्जिवी नेपाल म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउले आयोजना गर्न लागेको एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिन म्यानमार प्रस्थान गरे । यसै साता नेपाल राष्ट्र बैंकले झन्डै २९ करोड रुपैँया लगानीको लागि प्रस्ताव आह्वान गर्यो ।