June 3rd, 2016

लघुवित्त बैँकबाट ऋण लिएर छोरीलाई दाइजो 

विना कुस्वाहा (रौतहट, श्रीनर ५)
bina kuswahaलघुवित्त संस्थाबाट धेरै महिलाहरु सक्षम बनेका छन् । पहिले पहिले महिलाहरु घरबाहिर निस्कन सक्दैनथे । चार पर्खालभित्रै सिमित रहने र यसैलाई आफ्नो भाग्य ठानेर चित्त बुझाउने महिलाअरुको सोच आज परिवर्तन भएको छ । यो लघुवित्तकै कारण सम्भव भएको छ । आज थुप्रै महिला दिदीबहिनीहरुलाई लघुवित्तले सक्षम बनाइसकेको छ । 

फाइदा अनेक
महिलाहरुलाई समुहमा बाँधेर उद्यम गर्न लघुवित्तले सिकाएको छ । महिलाहरुको जमघट र समुहमा बसेर कुराकानी गर्ने अवसरका कारण कतिपय महिलाका समस्याहरु समेत समाधान हुने गरेका छन् । समूहमा बसेर काम गर्ने प्रवृत्तिको विकास भएको छ । खेर जाने समयको सदुपयोग भएको छ । साथसाथै केही आम्दानी पनि भएको छ । 

उद्यममा मात्र खर्च हुँदैनन् लघुवित्त बैँकबाट लिएको ऋण
कतिपय महिलाले लघुवित्तबाट पैसा लिएर उद्यममा नलगाई अन्य क्षेत्रमा समेत खर्च गर्ने गरेका छन् । खासगरी तराईका महिलाहरु घरभित्रकै काममा सिमित हुने भएकोले लघुवित्तबाट ऋण निकालेर श्रीमान्लाई खर्च गर्न दिने गरेका छन् । त्यस्तै हाम्रो समुदायमा क्यान्सर रोगभन्दा पनि भयानक रोग बनेर गडेको छ ः दाइजो प्रथा । दाइजो नदिए छोरीको विवाह नै नहुने अथवा विवाह भएपनि परिवारले दाइजो नल्याएको निहुँमा नराम्रो व्यवहार गर्ने भएकाले लघुवित्तबाट ऋण लिएर दाइजो दिन पनि बाध्य छन् कतिपय । विशेषतः गरीब र विपन्न वर्गका मानिसले यस्तो गर्ने गरेका छन् । 

लघुवित्तबाट ऋण लिएर छोरीलाई दाइजो दिएँ
मैले लघुवित्त बैंक बाट ३० हजार लिएर औषधि पसल खोलेँ । यसबाट विस्तारै आम्दानी बढ्दै गएको छ । अहिले ल्याब पनि छ । ३ जनालाई रोजगारी पनि दिएकी छुु । त्यस्तै मैले रोकिएको पढाईलाई पूरा गर्ने मौका पनि पाएकी छु । यद्यपि, दुःखका साथ भननुपर्दा, तराईमा लघुवित्त बैँकबाट लिएको ऋणबाट व्यवसाय गर्ने भन्दा पनि दाइजो लगायतका प्रयोजनमा खर्च गर्ने प्रचलन बढी छ । थोरै व्यक्तिले मात्र लघुवित्तको पैसा उद्यम क्षेत्रमा प्रयोग गरेका छन् । अधिकांशले दाइजोलाई नै प्राथमिकतामा राख्ने गरेका छन् । मैले पनि गत बर्षमात्रै छोरीको बिहे गरिदिएँ । दाइजो नदिए छोरीको विहे नै हुँदैन । दिउँ भने खानलाउनको समेत दुःख छ । तराईका समुदायको चलन नै त्यस्तै भएकोले लघुवित्तबाट झिकेको पैसा दाइजोमा खर्च गरेकी थिएँ । 

मेरो आग्रह
महिलाहरुलाई उद्यमशीलतामा लगाउने उद्देश्यका साथ उनीहरुलाई सहयोग गर्न खुलेका लघुवित्त बैंकहरुबाट ऋण लिएर अनावश्यक ठाउँमा खर्च गदाए मलाई ज्यादै दुःख लाग्छ । लघुवित्त संचालकहरुलाई यसप्रति नयाँ नीति ल्याउन आग्रह गर्छु । महिलाले चाहेर पनि उद्यमशील क्षेत्रमा लगानी गर्न पाउँदैनन् । परिवारको दबाबका कारण ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता छ । यसको समाधान जरुरी छ । यसरी उद्यमशीलतामा खर्च हुनुपर्ने रकम अन्यत्र जानु पक्कै पनि राम्रो कुरा हैन । यसका लागि, लघुवित्त बैंकबाट दिने ऋण अनिवार्य रुपमा उद्यमशीलतामा नै खर्च हुने गरी नीति तथा नियम ल्याउनुपर्छ ।