June 2nd, 2016

साताको अन्तिम दिन घटेर बन्द भयो शेयर बजार, १ अर्ब ४ करोडको कारोबार

economicसाताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.४४ अंकले घटेर १५१८.१२ अंकमा कायम भएको छ । कारोबार रकम पनि १ अर्ब ४ करोडमा ओर्लिएको छ । दिनभरिमा १ सय २८ वटा कम्पनिको १४ लाख १ हजार २ कित्ता शेयर ५ हजार ५ सय ७ पटक खरिदविक्रि हुँदा १ अर्ब ४ करोड ९७ लाख ६ हजार ९ सय ९५ रुपैँयाको कारोबार भएको छ । बुधबार १ अर्ब २२ करोडको शेयर कारोबार भएको थियो । 

सिटिजन्स बैँकको सबैभन्दा धेरै ११ करोडमाथिको शेयर कारोबार भएको छ । सानिमा बैँक र मेगा बैँकको क्रमशः झन्डै १ अर्ब र ६ करोडमाथिको शेयर कारोबार भएको छ । एनबी बैँकको ४ करोड ८४ लाखको कारोबार हुँदा सनराइज बैँकको ३ करोड ८९ लाखको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २७ लाख रुपैँयाको कारोबार हुँदा नेशनल हाइड्रोपावरको झन्डै ३ करोडको कारोबार भएको छ भने चिलिमे हाइड्रोको २ करोड ६८ लाखको शेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयर, स्वाबलम्बन विकास बैँक लगायतको साढे २ करोडमाथिको शेयर कारोबार भएको छ । 

विहिबार कुनै कम्पनिका लगानीकर्ताले पनि अत्याधिक सम्पत्ति बढाउन सकेनन् । सबैभन्दा धेरै कमाउने कम्पनिको अग्रस्थानमा रहेको ओमी डेभलपमेन्ट बैँकको शेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ । त्यस्तै, युनिक फाइनान्स, किसान माइक्रोफाइनान्स, मिरमिरे माइक्रोफाइनान्स, सगरमाथा इनस्योरेन्सले लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैँक, प्रोफेसनल दियालो विकास बैँक, चिलिमे हाइड्रो लगायतले पनि गुमाएका छन् । 

होटल, उत्पादनमूलक र अन्य समूह बढेपनि जलविद्युत् र बिमाले घटाएको बजारलाई सम्हाल्न सकेनन् । जलविद्युत् समूह सबैभन्दा धेरै ७१.७६ अंकले घट्दा विमा, विकास बैँक, फाइनान्स र वाणिज्य बैँक क्रमशः १५.६२, ६.८१, ५.४६, ३.७२ अंकले घटेका छन् । होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः २६.७९, ५.१९ र २.३५ अंकले बढेका छन् ।