रेमिट्यान्सलाई नेपाली अर्थतन्त्रको एक बलियो आधार मानिन्छ । लाखौँको संख्यामा विदेशीरहेका नेपाली युवाहरुले पठाएको पैसाले हाल नेपालले व्यहोर्दै आएको व्यापार घाटालाई पूर्ति गर्न थालेको पाइएको छ । नेपाल राष्ट्र बैँकले जारी गरेको पछिल्लो विवरणले मुलुकले व्यहोर्ने गरेको व्यापार घाटा र नेपाल भित्रिने रेमिट्यान्स बराबर रहेको देखाएको छ । चालू आर्थिक वर्षको ९ महिनाको आर्थिक विवरणअनुसार यस अवधिमा ४ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने वस्तु व्यापार घाटा ४ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । यी दुई तथ्यांक हेर्दा हरेक दिन वस्तु आयातमा १ अर्ब ७४ करोड घाटा भइरहेकामा रेमिट्यान्स आप्रवाह १ अर्ब ७८ करोड रुपैयाँ छ ।
सुधारिँदै अन्तर्राष्ट्रिय व्यापार
भारतीय नाकाबन्दी पछि रेमिट्यान्स व्यापार घाटाभन्दा बढी हुन थालेको छ । ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह गत वर्षको यसै अवधिभन्दा करिब ७ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापार घाटा ८.२ प्रतिशतले घटेकाले रेमिट्यान्सले व्यापार घाटा उछिनेको छ । यसले मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा सामान्य सुधार भएको देखाएको छ । गत चैतसम्म ५ खर्ब १९ अर्ब रुपैयाँ बराबारको आयात भएको छ । अघिल्लो वर्षको उक्त अवधिको तुलनामा यो ९.९ प्रतिशतले कम हो । उक्त अवधिमा ४९ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको भन्दा २३ प्रतिशत कम हो । यस अवधिमा भारत तर्फको निर्यात ३३.४, चीनतर्फको ४१.३ र अन्य मुलुकतर्फको १.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
व्यापार घाटामा आएको कमी र चालू खाता सकारात्मक भएकाले शोधनान्तर अवस्था पनि सन्तोषजनक देखिएको छ । नौ महिनामा शोधनान्तर( देश भित्रिने र बाहिरिने रकम बीचको फरक) १ खर्ब ३३ अर्ब रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको उक्त अवधिमा यो २१ अर्ब ६८ करोडले बचतमा थियो । फलस्वरुप विदेशी विनिमयको सञ्चिति पनि बढेको छ । गत असारको तुलनामा चैतसम्म विदेशी विनिमय सञ्चिति २२.३ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
बैँक तथा वित्तीय क्षेत्रको सुधार
चालू आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.६ प्रतिशतले बढेको थियो । उक्त अवधिमा वाणिज्य बैंकको निक्षेप ११.८ प्रतिशत, विकास बैंकको ७.६ प्रतिशतले र वित्त कम्पनीको २.८ प्रतिशतले बढेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । ०७२ चैतमा वाणिज्य बैंकहरूको कर्जा र निक्षेप बीचको औसत ब्याजदर अन्तर (स्प्रेड) ४.७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर अन्तर ४.३९ प्रतिशत थियो । केन्द्रीय बैंकको निर्देशनअनुसार यो दर ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यस्तै वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर (बेस रेट) ६.३२ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो दर ७.६८ प्रतिशत थियो । आर्थिक वर्ष ०७२/७३ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्र सँगको विदेशी विनिमय सञ्चितिले १७ महिना ८ दिन वस्तु आयात र १५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।
बजार भाउ ९.७ प्रतिशतले बढ्यो
राष्ट्र बैंकका अनुसार गत चैतमा बजार भाउ गत वर्षको भन्दा ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ६.९ प्रतिशत थियो । भारतको अघोषित नाकाबन्दीपछि यस वर्ष बजार भाउ अकासिएको हो । नाकाबन्दीको समयमा १२ प्रतिशत नाघेको मुद्रास्फीतिदर चैतमा केही तल झरेको छ । गत पुसमा १२.२ प्रतिशत भएको मूल्य वृद्धिदर माघमा ११.९ प्रतिशत, फागुनमा १०.२ प्रतिशत हुँदै चैतमा एकल अंकमा झरेको छ । क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै ११.७ प्रतिशत छ । यस्तै पहाडमा १० प्रतिशत, तराईमा ८.३ प्रतिशत र हिमालमा ८ प्रतिशत भएको राष्ट्र बैंकको प्रतिवेदनमा छ ।