२०७५ फाल्गुन ६ गते

सम्पादकिय दृष्टिकोण: ब्याजदरमा देखिएका समस्या र दिर्घकालिन समाधानका उपाय

बैंकिङ खबर। उद्योगी व्यवसायीले ब्याजदर घटाउन वित्तीय बजारलाई हस्तक्षेप गर्न सरकारलाई दवाब दिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार दिउसो उद्योगी व्यवसायी सहित सरोकारवालाहरुलाई छलफल गर्न मन्त्रालयमा बोलाएका छन् । हुन त अर्थमन्त्री अतिवडाले यस अघि पनि मुद्रा बजार र पूँजी बजार सुधारका लागि सुझाव दिन कार्यदल नै बनाएर समस्या समाधान गर्ने कोसिस गरेका थिए । कार्यदलले दिएको सुझाव अनुसार राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले निक्षेपमा तत्काल ब्याजदर घटाउने सहमति गरेका थिए । त्यसैले निक्षेपमा केही मात्रामा ब्याजदर घटेको पनि छ । तर कर्जामा ब्याजदरको समस्या भने उस्तै छ ।

ब्याजदरमा वृद्धि कसरी भयो? 
बैंकहरुले निक्षेपको ब्याज घटाउने सहमति गरेको २ महिना पुरा भइसक्दा पनि कर्जामा ब्याजदर घटाउन चाहिरहेका छैनन् । हुन त अधिकांश बैंकहरुको आधार ब्याजदर १० प्रतिशत भन्दा माथि नै छ । यस अनुसार साढे चार प्रतिशत सम्म दर बढाएर कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएकाले पनि कर्जाको ब्याजदर उच्च भएको हो ।

बैंकहरुले ब्याजदरमा सहमति गरेर जाँदा बजार प्रतिस्पर्धी बनेको छैन् । जसले गर्दा तुलनात्मक रुपमा साना र व्यवसायमा कमजोर देखिएका बैंकहरु बेला बखत समस्यामा देखिएका छन् । यसले बैंकहरु निक्षेपको ब्याजदर बढाएर निक्षेप तानातान गर्ने खेलमा लागेको देखिन्छ । राम्रा भनिएका बैंकहरुलाई पनि निक्षेप खेसिने डर भयो । जसले गर्दा ब्याजदर उच्च हुँदै गयो । यस्तो समस्या आजको होइन् । दुई वर्षदेखि नै यस्तो प्रवृति बैंकहरुमा देखियो। अन्ततः बैंकमा निक्षेप अभाव भएको थाहा पाएपछि संस्थागत निक्षेपकर्ताहरुले ब्याजदरमा मोल मोलाई गर्न थाले । यसले बैंकको ब्याजदरमा उच्च वृद्धि हुँदै गएको देखिन्छ । जसले गर्दा निक्षेप र कर्जाको ब्याजदर उच्च हुँदै आएको हो । 

अझ बजारमा कर्जाको माग पनि उच्च भएको छ । नयाँ निक्षेप सिर्जना हुन सकेको छैन् । त्यसैले यसले लामो समय ब्याजदर उच्च बनाउने निश्चित छ ।

अर्थमन्त्री दबाबमा 
सोमबार अर्थमन्त्री खतिवडाले कर्जाको ब्याजदर एकल अंकमा झार्नका लागि छलफल गर्न राष्ट्र बैंक, बैंकर्स संघ र उद्योगी व्यवसायीलाई बोलाएका हुन् । शनिवार उद्योगीहरुले ऋणको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई नै भेटेर दबाब दिएका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले उद्योगीको माग सम्बोधन गर्न अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिए । यसले गर्दा अर्थमन्त्री खतिवडा दबाबमा परेका छन् । सोही कारण आइतबार नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)को १० औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी नभएमा सरकारले हस्तक्षेप गर्ने अभिव्यक्ति दिएका थिए । 

ब्याजदर घटाउने उपाय
ब्याजदर एउटा सिमाभित्र ल्याउन सबैभन्दा पहिला संस्थागत निक्षेप कर्ताले बैंकसँग बढी ब्याज नलिने वातावरण मिलाउन पर्ने देखिन्छ । किन भने वित्तीय प्रणालीमा अहिले पनि संस्थागत निक्षेपकर्ताको निक्षेप ४५ प्रतिशत भन्दा बढी छ । 

बैंकमा लगानीयोग्य पूँजीको अभाव हुनु र बजारमा कर्जाको माग अत्याधिक हुन जाँदा कर्जाको ब्याजदर घटन नसकेको हो । सरकारले समयमा बजेट खर्च गर्न नसक्दा पनि बजारमा क्यास साइकल कमजोर देखिएको छ । यसले बैंक तथा वित्तीय बजारमा निक्षेप कम गराएको छ । त्यसैले सरकारी खर्च बढनै पर्ने देखिन्छ ।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको संख्या पनि अत्यधिक छ । बजारमा आवस्यकता भन्दा बढी बैंकहरु भए भन्ने चर्चा समेत हुँदैं आएको छ । सामान्य अर्थशात्रको सिद्धान्त अनुसार पनि बजारमा आवस्यकता भन्दा बढी संस्थाहरु भएमा व्यवसाय बढाउन अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना हुन्छ । अहिले नेपालको बैंकिङ क्षेत्रमा यस्तै भएको हो । सानो आकारमा व्यवसाय गरिरहेका बैंकहरुको ब्याजदर नै सबैभन्दा बढी देखिन्छ । जसको वित्तीय विवरण पनि कमजोर भएको छ । निक्षेप आकर्षित गर्न बैंकहरुले बेला बेलामा ब्याजदर बढाएका हुन् ।

अर्कोतर्फ नेपालको बैंकिङ क्षेत्रमा अधिकांश उद्योगी व्यववसायीहरुको लगानी रहेको छ । अझ कतिपय बैंकहरुको संस्थापक नै उद्योगी व्यवसायीहरु नै छन् । यसले पनि बैंकिङ व्यवसाय प्रभावित भएको हुन सक्छ । 

ब्याजदरको समस्या समाधान गर्न कर्जा–पूँजी–निक्षेप (सिसिडी)मा लचकता अपनाइएपनि उक्त उपाय अल्पकालिन मात्र हुने छ । त्यस्तै प्रथमिकता प्राप्त क्षेत्रको ऋणको ५० प्रतिशत रकम सिसिडीमा गणना गर्न नपर्ने व्यवस्था समेत गरिदै छ भन्ने सुन्नमा आएको छ । यसले पनि दिर्घकालीन समाधान दिन सक्ने देखिदैन् । किन भने बजारमा कर्जाको माग अत्याधिक छ । त्यसैले बैंकहरुले सिसिडीमा ख्याल नगरी आक्रामक रुपमा कर्जा प्रवाह गरिरहेका छन् । यसले दिर्घकालसम्म ब्याजदर प्रभावित हुने देखिन्छ ।

उद्योगी व्यवसायीहरु पनि कर्जा पाउन्जेल ब्याजदर सम्बन्धि कुनैपनि विषयमा माग राखेका थिएनन् । तर पछिल्लो समय कर्जा पाउनै छाडेपछि ब्याजदरको विषय उठाएर सरकारलाई दबाब दिइरहेको देखिन्छ । 

त्यसैले ब्याजदरको विषयमा अल्पकालिन रुपमा समस्या समाधान गर्दै दिर्घकालिन समाधानको उपाय अपनाउनु पर्ने देखिन्छ ।