May 31st, 2016

बैंकमार्फत एक करोडभन्दा बढी ठग्ने प्रहरीको फन्दामा

fraudनगद र बैंकमार्फत गरी एक करोड छ लाख रुपैयाँ ठगी गर्ने बाबु, छोरा र ज्वाइँलाई  प्रहरीले पक्राउ गरेको छ । सरकारी जागिरको विज्ञापन देखाई एक करोड भन्दा बढी ठगी गर्ने सप्तरीको देउरी ८ का ४० वर्षीय रामनारायण साह, उनका ससुरा मल्हनिया ८ का ५८ वर्षीय नन्दन प्रसाद साह र निजको छोरा ३८ वर्षीय दिपेन्द्र प्रसाद साहलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

ठगीमा परेको थाहा पाएपछि ठगिएकामध्ये राजकुमार मेहताको उजुरीका आधारमा प्रहरीको विशेष टोलीले गत बुधबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी ठगी मुद्दामा थप अनुसन्धान कार्य भइरहको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उजुरीका साथ पीडितहरुले बैंक भौचर र आरोपितले रकम बुझेको भरपाई पेश गरेका छन् ।

आरोपितले १० वर्षदेखि सप्तरीको हुनमाननगर १ मा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय राजकुमार मेहतासहित ४० जनाबाट ०७२ असार २० गतेयता पटक–पटक गरी नगद र बैंकमार्फत एक करोड छ लाख रुपैयाँ ठगी गरेका थिए ।