May 31st, 2016

यस्ता छन्, संशोधन हुन लागेका ९ वित्तीय विधेयकहरु

Aartha-sameeti-baithakसरकारले आगामी आर्थिक वर्षमा ९ वटा ऐन संशोधनसम्बन्धि विधेयक संसदमा पेस गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वित्तीय सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन सो ऐन संशोधन गर्न लागेको हो । 

संशोधन हुने विधेयकमा नेपाल राष्ट्र बैँक ऐन संशोधन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक, निक्षेप तथा कर्जा सुरक्षण विधेयक, कर्मचारी सञ्चय कोष ऐन संशोधन विधेयक रहेका छन् । यसैगरी बैंकिङ कसुरसम्बन्धि संशोधन विधेयक, विदेशी विनिमय नियमित गर्ने ऐन, नागरिक लगानी कोष, बीमासम्बन्धि विधेयकलाई आगामी आर्थिक वर्षमा संसदमा पेश गर्न लागेको हो । 

बजेटले ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गर्नका लागि ५ प्रतिशत रकम अनिवार्य रुपमा लघुबीमामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । बीमा कम्पनिहरुलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नका लागि प्रोत्साहन गर्ने, निजी आवास, सरकारी भवन तथा संरचनाहरुको बीमा गर्ने योजना बजेटमार्फत पेस गरिएको छ । ग्रामीण स्वाबलम्बन कोष, गरिबी निवारण कोष, युवा तथा स्वरोजगार कोषलाई कृषिमा आधारित साना व्यवसाय कर्जामा लगाउनका लागि बैंक तथा फाइनान्स कम्पनिहरुलाई अनिवार्य रुपमा व्यवस्था लागू गर्न निर्देशन दिने भएको छ । पुँजी बजारको दायरालाई फराकिलो बनाउनका लागि धितोपत्र बजारमा उत्पादनमूलक कम्पनिलाई सूचीकृत गर्न प्रोत्साहन गर्ने, उत्पादनमूलक कम्पनि स्थापना गर्दा आयकरमा २५ प्रतिशत छुट दिने नीति बजेटले लिएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले भुकम्पपछिको पुनर्निर्माण, कृषि, उर्जा र पूर्वाधार विकासमा ठोस योजनासहित शनिबार व्यवस्थापिका संसदमा कुल १० खर्ब ४८ अर्ब ९२ करोड रुपैँयाको बजेट पेस गरेका थिए ।