बैंकिङ खबर। ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नविल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ मुनाफा कमाएको छ । प्रतिस्पर्धामा रहेको बैंकहरु नेपाल इन्भेष्मेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पछाडी पार्दै नविल बैंक मुनाफा आर्जनमा सबैभन्दा अगाडी देखिएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १८ दशमलव ४५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ रहेको थियोे ।
आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ७ अर्ब ३२ करोड ५० लाख ६५ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ अर्ब ७१ करोड ३७ लाख १० हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ हुन जान्छ ।
निक्षेप तथा कर्जा
बैंकले पुष मसान्त सम्ममा १ खर्ब ४९ अर्ब ३८ करोड २० लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब ७१ करोड ६ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप २३ दशमलव १६ प्रतिशतले बढाएको हो । त्यस्तै बैंकले कर्जा लगानी २६ दशमलव ९८ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ खर्ब २१ अर्ब २८ करोड ९८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ९३ करोड ८१ लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सूचकहरु
बैंकको पूँजी कोष अनुपात ११ दशमलव ९५ प्रतिशत, खराव कर्जा शुन्य दशमलव ६२ प्रतिशत र सीसीडी रेसियो ७८ दशमलव ५ प्रतिशत, आधार ब्याजदर ७ दशमलव ९४ प्रतिशत, प्रतिशेयर नेटवर्थ २ सय ८० रुपैयाँ ५७ पैसा र प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा रहेको छ ।