बैंकिङ खबर । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्।
यसै क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकले .६ महिनामा १ अर्ब ९७ करोड ५५ लाख खुद नाफा गरेको छ। बैंकले गत वर्षको यस अवधिमा १ अर्ब ८३ करोड नाफा कमाएको थियो।
इन्भेष्टमेन्ट बैंकको यो नाफा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा धेरै हो। नाफामा इन्भेष्टमेन्ट बैंकको टक्कर नविल र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग हुने गरेको छ।
राष्ट्रिय वाणिज्यले यस अवधिमा १ अर्ब ९६ करोड खुद नाफा कमाएको छ। वार्षिक उत्सवका अवसरमा वाणिज्य बैंकको नाफा सार्वजनिक भएको हो। राष्ट्रिय वाणिज्यलाई नाफामा १ करोडले पछाडि पारेको इन्भेष्टमेन्टको अब नविलसँग तुलना हुने छ। नविलको वित्तीय विवरण सार्वजनिक भएको छैन।
इन्भेष्टमेन्टको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रहेको छ। राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ९ अर्ब छ। चुक्ता पुँजीका आधारमा इन्भेष्टमेन्ट अगाडि देखिन्छ।
जगेडा कोषका आधारमा इन्भेष्टमेन्टभन्दा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ। इन्भेष्टमेन्टको रिजर्भ ११ अर्ब ९७ करोड छ भने वाणिज्य बैंकको गत त्रैमासमै साढे १२ अर्ब नाघेको छ। रिजर्भ धेरै हुनुले बैंकको सबलता मजबुत भएको जनाउँछ। संभावित जोखिमहरु परेका बेला त्यही रिजर्भबाट रकम खर्च गर्नुपर्ने हुन्छ।
निक्षेप संकलन तथा कर्जा प्रवाहका आधारमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि छ। राष्ट्रिय वाणिज्यले पहिलो त्रैमाससम्म १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ। दोस्रो त्रैमासमा यो अझ बढ्नेछ।
इन्भेष्टमेन्टले दोस्रो त्रैमाससम्म १ खर्ब ४२ अर्ब संकलन गरेको छ। कर्जा विस्तारका आधारमा पनि राष्ट्रिय वाणिज्य अगाडि छ। वाणिज्य बैंक थप ऋण लगानीका लागि इन्भेष्टमेन्टभन्दा सहज अवस्थामा छ। इन्भेष्टमेन्टको सिसिडी रेसियो ७६ प्रतिशत पुगेको छ भने राष्ट्रिय वाणिज्यको ७० प्रतिशतको हाराहारीमा छ। तसर्थ अबका दिनमा इन्भेष्टमेन्टलाई वाणिज्य बैंकले नाफामा जित्ने संभावना बलियो छ।
ऋण लिन चाहनेका लागि नेपाल इन्भेष्टमेन्टभन्दा वाणिज्य बैंकको ऋण सस्तो छ। इन्भेष्टमेन्टको आधार व्याजदर ८. ९ प्रतिशत पुगेको छ, राष्ट्रिय वाणिज्यको ७ प्रतिशतभन्दा कम छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी घटेको छ। गत आवको नाफाबाट १८ प्रतिशत बोनस दिएपछि प्रतिसेयर आम्दानीमा असर परेको हो। यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा छ। इन्भेष्टमेन्टको निश्क्रिय कर्जा बढेको छ।
गत वर्षको यस अवधिमा यस्तो कर्जा १.१२ प्रतिशत रहेकोमा अहिले २. ०४ पुगेको छ। इन्भेष्टमेन्टको सेयर बजारमा मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ छ। यस आधारमा बैंकमा लगानी भने फाइदामुलक नै देखिन्छ। मूल्य आम्दानी अनुपात १६. ९ मात्रै छ। राष्ट्रिय वाणिज्य बैंक भने पूर्ण सरकारी स्वामित्वको भएकाले सेयर किनबेच हुुँदैन।