January 24th, 2019

किन घटेन ऋणको व्याजदर ? 

बैंकिङ खबर। केही साताअघि बैंकहरुले सर्वसाधारणलाई निक्षेपमा दिने ब्याजदरको अधिकतम सीमा घटाए। ब्याजको आधार दरमा गणना गरिँदै आएको सम्पत्तिमा प्रतिफलबापत् ०. ७५ प्रतिशत जोड्न नपर्ने व्यवस्था पनि गरियो। 

त्यस्तै स्प्रेड दर (बैंकले दिने र लिने औसत ब्याजको अन्तर)लाई वाणिज्य बैंकले चैत मसान्तसम्म ४. ७५ प्रतिशतमा झार्नुपर्नेगरी मुद्रा तथा पुँजी बजार समस्या समाधान समितिले सुझाव दियो।

यिनै कारण ऋणको व्याजदर घट्ने धेरैको अपेक्षा थियो। तर ऋणको व्याजदर भने घटेको छैन। अझै केही महिना ऋणको व्याज घट्ने संभावना नरहेको बैंकर बताउँछन्। ‘कमसेकम निक्षेपको ब्याजदर नबढेपछि आधार ब्याजदर बढ्न पाएन त्यसकारण ऋणको ब्याजदर बढ्दैन, तर तुरुन्तै घट्ने पनि हुँदैन, क्रमिक रुपमा घट्दै जाने हो’ एक बैंकका प्रमुख कार्यकारीले भने।  

उनका अनुसार पछिबाट निक्षेपमा घटाइएको व्याजदरले आधार व्याजदरलाई झार्न केही महिना लाग्छ। पछिबाट आएको मुद्दती निक्षेपमा मात्रै व्याजदर घट्ने हो। त्यसअघिको मुद्दतीमा तोकिएको अवधिसम्म सम्झौताअनुसारको व्याजदर बचतकर्तालाई दिनैपर्छ। त्यसले आधार दर घटाउँदैन।  

त्यसकारण पहिले बैंकहरुले मुद्दतीमा लिएको महँगो व्याजदरले तुरुन्तै आधार व्याजदर नघटाउने बैंकरको भनाई छ। आधार व्याजदर नघटेसम्म ऋणको व्याज पनि घट्न पाउँदैन। धेरै व्याजमा लिइएको मुद्दती निक्षेपको अवधि परिपक्व हुँदै गएपछि पनि नयाँ व्याजदर कायमै रहने हो भने मात्रै आगामी दिनमा व्याजदर घट्दै जाने हो।

कुल निक्षेपमा मुद्दतीको हिस्सा सबैभन्दा धेरै छ।  मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको छ । 

त्यस्तै आधार ब्याजदरमा सम्पत्तिमा प्रतिफलबापत् घटेको ०.७५ प्रतिशतको दरलाई बैंकहरूले प्रिमियमका रूपमा थपेका छन्। जस्तै ११ प्रतिशत आधार ब्याजदर रहेका बैंकले ३ प्रतिशत प्रिमियम जोडेर कुनै कर्जा तोकिरहेको अवस्थामा अब आधार ब्याजदर ०.७५ नै घटेर १०.२५ मा झर्दा ति बैंकले (स्प्रेड रेटको सीमाले दिएको खण्डमा) प्रिमियमबापत् ३.७५ प्रतिशत जोडेर ऋणको ब्याजदर तोकेको छन्। 

स्प्रेड रेटका आधारमा धेरै बैंक सहज अवस्थामा रहेकाले यो व्यवस्था मिलाउन बैंकहरुलाई कुनै पनि चुनौति रहेन। राष्ट्र बैंकले ऋणको वर्गीकरणमा कडाइ गरेपछि बैंकहरुले प्रोभिजनवापत छुट्याउनुपर्ने रकम बढ्न गयो। यसले बैंकहरुको लगानीमा असर पर्यो। जसले गर्दा पनि उनीहरुलाई प्रिमियमको दर बढाउन दवाव पुग्यो। 

राष्ट्र बैंकको तथ्यांकअनुसार आधार व्याजदर घटेको छैन। बैंकहरुको औसत आधार ब्याजदर मंसिरसम्म १०.३० प्रतिशत कायम भएको छ। बैंकहरुले असार मसान्तसम्म स्प्रेड दर साढे ४ प्रतिशतमा झार्नुपर्ने छ।

त्यसकारण स्प्रेड दर सोभन्दा बढी भएका बैंकहरुले ऋणको व्याजदर केही घटाएर सन्तुलनमा ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ जेठ असारताका पुँजीगत खर्च पर्याप्त हुने र त्यसले पनि ऋणको व्याज केही हदसमम घटाउन दवाव पुग्ने बैंकर बताउँछन्। त्यसयता ऋणको व्याजदर घट्ने संभावना नरहेको उनीहरुको भनाइ छ। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]