बैंकिङ खबर। हाल १, २, २५ र २५० रुपैयाँका नोट चलनचल्तीमा पाइँदैन। यी नोटहरु पहिले चलनचल्तीमा रहेका थिए।
केही वर्षयता यी नोटको छपाई राष्ट्र बैंकले बन्द गरेको छ। चलनचल्तीमा रहँदा धेरै यस्ता नोट खिचेर राष्ट् बैंकले नै व्यवस्थापन गर्यो। राष्ट्र बैंकमा गइसकेपछि यी नोट बाहिर पुनः सर्कुलरमा आउन पाएनन्।
चलनचल्तीबाट यी नोट हटाउने उद्देश्यले नै नोटको छपाई बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा रहेका नोट पनि राष्ट्र बैंकले खिचेर नयाँ नोटहरुसँग सटही गरिदियो। जसले गर्दा यी नोट चलनचल्तीबाट हराउँदै गए।
राष्ट्र बैंकले खिचिसकेपछि यी नोटहरु नष्ट गरियो। तर राष्ट्र बैंकको तथ्यांकले चलनचल्तीमा यी नोटहरु अझै पनि प्रशस्त रहेको देखाउँछ।
तथ्यांकअनुसार १ का नोट १६ करोड १० लाख वटा सर्कुलरमा छन्। २ का नोट ९ करोड २७ लाखको संख्यामा छन्।त्यस्तै २५ का नोट २२ लाख ९१ हजार वटा र ३ लाख ४९ हजार वटा २५० का नोट सर्कुलरमा छन्। सर्कुलरमा गएका यी नोटको मूल्य दिएर राष्ट्र बैंकले सटही नगरेसम्म तथ्यांकमा देखिरहनेछ।
यी नोट दुर्लभ भइसकेकाले कतिपयले संग्रह गरेर राखेका छन्। 'यी नोटहरु हेर्नका लागि वा पछिल्लो पुस्तालाई देखाउन संग्रह गरेर राखेका पनि हुन्छन्', राष्ट्र बैंकका एक उच्च अधिकारीले भने 'व्यक्तिले संग्रह गरेर राखेका नोट हाम्रो तथ्यांकमा सर्कुलरमा रहेको देखिन्छ।'
यदी यी नोट भएका व्यक्तिले अर्को व्यक्तिलाई कारोबारवापत दिएमा सो व्यक्तिले पुनः कारोबारमा ल्याउँदैन। त्यसकारण यी नोटहरु दुर्लभ भएका हुन्।
सर्कुलरकै क्रममा केही नोटहरु नष्ट भएको पनि हुन सक्छ। खासगरी भूकम्पका बेला नष्ट भएको नगद पनि राष्ट्र बैंकको तथ्यांकमा सर्कुलरमा रहेको देखिन्छ। कतिपय क्षेत्रमा यी नोटको व्यापार समेत हुने गरेको पाइन्छ। संग्रह गरेर राख्ने उद्देश्यले यस्ता नोटहरु कतिपयले महँगोमा किनेका पनि छन्।