Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धनजति विदेशतिर पलायन, कसरी बढ्छ बैंकमा निक्षेप ?

२०७५ माघ ४ गते

बैंकिङ खबर । विगत ३ वर्षयता मुलुकको वित्तीय प्रणालीमा निक्षेपको अभाव छ। २०७२ सालअघिसम्म बैंकहरुमा पर्याप्त पैसा हुन्थ्यो। कर्जाका लागि कुनै समस्या थिएन। 

तर त्यसयता वित्तीय प्रणालीमा लगानीयोग्य रकमको चर्को अभाव भइरहेको छ। यो समस्या झन् पछि झन् जटिल बन्दै गएको देखिन्छ। यसो हुनुका पछाडि एउटा प्रमुख कारण हो नेपालबाट विदेशतिर धन पलायन हुनु। 

चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा गएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा देखिएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि कात्तिकसम्म शोधनान्तर घाटा ५७ अर्ब थियो। एक महिनाकै अवधिमा अर्थात मंसिरसम्म आउँदा २८ अर्ब घाटा थपिएको छ।

पछिल्ला वर्षमा यस्तो घाटा बढ्दै गएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७१\७२ मा शोधनान्तर स्थिति १४४ अर्ब ८५ करोडले बचतमा थियो। जसले गर्दा त्यतिबेला निक्षेपको अभाव थिएन। 

पाँच महिनाको अवधिमा विदेशी मुद्रा सञ्चिती ३.३ प्रतिशतले घटेको छ। हाल विदेशी विनिमय सञ्चिती ११ खर्ब २ अर्ब रुपैयाँ रहेको छ। यो रकमले ९ महिनाको आयातलाई मात्रै धान्न सक्छ। 

मुलुकको व्यापार घाटा डरलाग्दोगरी बढेको छ। सामान बेचेवापत देशले ३७ अर्ब रुपैयाँ आम्दानी गर्दा ६ खर्ब रुपैयाँ सामान किनेवापत बाहिर पठाउँछ। जुन राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको तथ्यांक मात्रै हो। 

पर्यटन क्षेत्रबाट नेपालले पाँच महिनामा ३१ अर्ब रुपैयाँ आम्दानी गर्दा ४१ अर्ब नेपाली पर्यटनकै कारण बाहिरिएको छ। अर्थात नेपालमा आउने पर्यटकले भन्दा नेपालीले बाहिर जाँदा गर्ने खर्च बढी छ। त्यति मात्रै होइन कानूनविपरित अनौपचारिक माध्यमबाट समेत धन पलायन हुने क्रम बढेको छ। 

हालै खोज पत्रकारिता केन्द्रले एउटा निश्कर्ष निकालेको छ कि ५५ नेपालीहरुको विदेशमा लगानी भएको छ। त्यसबाहेक स्वीश बैंकमा नेपालीको रकम बढ्दै गएको छ। 

यसले धन पलायनको अवस्थालाई उजागर गरेको छ। यसरी धन पलायन हुँदा मुलुकले लगानीयोग्य रकमको अभाव खेपिरहेको छ। बैंकहरु भनेका बेला भनेजति ऋण दिन नसक्ने अवस्थामा छन्। मुलुकको धन पलायनले निक्षेपमा ह्रास आएकोमा कुनै शंका नरहेको बैंकर बताउँछन्। 

धन पलायन बैंकहरुका लागि सबैभन्दा ठूलो बाह्य चुनौति बनेको छ। बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दा शोधानान्तर घाटालाई एउटा ठूलो चुनौतिका रुपमा व्याख्या गरिरहेका छन्। 

यस्तो घाटा बढ्दै जाँदा बैंकहरुको खराब कर्जा बढ्न जान्छ। अर्कोतर्फ निक्षेप बढ्नु त परैको कुरा भएको निक्षेप समेत गुम्दै जाने खतरा रहन्छ। जब वित्तीय प्रणाली संकटग्रस्त बन्न थालेको महसुस हुन्छ, तब बैंकहरुमा निक्षेप झिक्नेको ताती लाग्ने गरेको उदाहरण धेरै मुलुकले देखाइसकेका छन्। 

कतिपयले पुँजीगत खर्च समयमा नहुँदा वित्तीय प्रणालीमा असर परेको बताइरहँदा त्योभन्दा जटिल समस्या धन पलायन नै रहेको धेरैको विश्लेषण छ। मुलुकको पुँजीगत खर्च समयमै नहुने रोग पुरानै हो। अहिले निक्षेप भएन भनेर यसलाई मात्रै दोष दिनुको तुक नरहने विश्लेषक बताउँछन्।

'२०७१\७२ तिर पनि पुँजीगत खर्च समयमै नहुने समस्या त थियो, तर शोधनान्तर बचतमा थियो, त्यसकारण निक्षेपको अभाव भएन', एक विश्लेषकले भने 'अहिले पनि पुँजीगत खर्चको समस्या छँदैछ, तर शोधनान्तर घाटामा गएको छ, जसले बैंकहरुलाई चुनौति थपिएको छ।' 

तसर्थ अब आन्तरिक उत्पादन बढाउनेगरी राज्य गम्भीर हुनुपर्छ त्यसमा बैंकहरुले पूर्णत सहयोग गर्नुपर्छ। सवारीसाधनजस्ता आयातित बस्तुका लागि ऋण प्रवाह गर्ने होडबाजी अन्त्य हुनुपर्छ। अन्यथा अर्थतन्त्रमा खतराको घण्टी बज्न धेरै वर्ष कुर्नु पर्दैन।
 

Ad