January 15th, 2019

वैदेशिक रणनीतिक साझेदार भित्र्याउने तयारीमा मेगा बैंक

बैंकिङ खबर । मेगा बैंकले आफ्ना सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैसा नगद लाभांश र चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । 

साधारणसभापछि बैंकका अध्यक्ष शाहले भने, ‘हामीले मेगा बैंकलाई संघियताको ढाँचामा लगिसकेका छौँ । सोही अनुरुप बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएका छौँ । केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’ 

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ । मेगा बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज गर्न तथा एक्विजिसनका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको पछिल्लो मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न साधारणसभाले अनुमति दिएको छ । अध्यक्ष शाहले भने,“हलोदेखि हाइड्रोसम्म’का जनताको पहुँचमा बैंकको सञ्जाललाई विस्तार गर्न मर्जरको ढोका पनि खुल्ला राखिएको हो । ” 

आर्थिक बर्ष २०७४/७५ को बोनस सेयर बाँडफाँडपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैँया पुग्ने बैंकले जनाएको छ ।  चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ३ अर्ब १५ करोड रुपैँयाले बृद्धि भई ६६ अर्ब १२ करोड रुपैँया पुगेको छ । यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपैँयाले बृद्धि भई ६२ अर्ब २५ करोड रुपैँया पुगेको छ । गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । 

हाल बैंकको १०२ वटा शाखा कार्यालय, १८ वटा एक्सटेन्सन काउन्टरहरु, ८१ वटा एटिएम मेशिन ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् । चालु आर्थिक बर्षमा ७२ वटा शाखारहित सेवा विस्तार गरी दूरदराजका सर्वसाधारणमा बैंकिङ पहुँच बढाउने मेगा बैंकको योजना छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]