January 8th, 2019

महिलाले व्यवसाय गर्न २.३ प्रतिशत व्याजमै पाइन्छ ऋण

बैंकिङ खबर । महिलाहरुलाई उद्यमशिलता बनाउन भन्दै सरकारले सहुलियत व्याजको महिला उद्यमशिलता कर्जा ल्याएको छ। १५ लाख रुपैयाँसम्म ऋण पाइने यस्तो कर्जाको ६ प्रतिशत व्याज सरकारले नै तिरिदिन्छ। 

सस्तो आधार व्याजदर भएको बैंकबाट यस्तो ऋण लिँदा जम्मा २. ३३ प्रतिशत मात्रै पर्न आउँछ। बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडी त्यसमा ६ प्रतिशत अनुदान व्याज घटाई बाँकी व्याज तपाईले तिर्नुपर्छ। 

जस्तो राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर ६. ३३ प्रतिशत मात्रै छ। यसमा २ जोड्दा ८.३३ हुन आउँछ। यो व्याजमा सरकारले ६ प्रतिशत तिरिदिने भएपछि तपाईलाई २. ३३ मात्रै पर्न आउँछ। 

त्यसकारण सहुलियत दरको ऋण लिँदा आधार व्याजदरलाई भने ध्यान दिनु जरुरी छ। अर्को महत्वपूर्ण कुरा यस्तो ऋणमा कुनै धितो राख्नु पर्दैन। यो ऋण लिएर तपाईले गरेको व्यवसाय नै धितो हुन्छ। 

कस्ता कामका लागि पाइन्छ ऋण ? 
सिलाईबुनाई, पेन्टिङ सम्वन्धी कामहरु, राडी पाखी उनि तथा गलैंचा बनाउने उद्योग खोल्नका लागि यस्तो ऋण पाइन्छ। त्यस्तै हस्तकला सम्वन्धी व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्वन्धीको कामका लागि ऋण पाइन्छ।

सेरामिक्स, पुतली तथा खेलौनासम्वन्धी व्यवसाय गर्न, धुप बत्ती बनाउन, चित्रकला तथा कागजका कामका लागि ऋण पाइन्छ। त्यस्तै चिया तथा खाजा पसल संचालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडाको पसल गर्न, स्टेसनरी तथा साइबर संचालन गर्न ऋण पाइन्छ। 

 धान, गहुँ, मकै, कोदो, जौँ, तोरी, सरस्युँ, केराउ, चना, भटमास लगायत अन्नबालीका लागि यस्तो ऋण परिचालन गर्न सकिन्छ। त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले पनि यो ऋण लिन पाउँछन्। 

लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि यो ऋण पाइन्छ। 

त्यस्तै आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि यो ऋण लिन सकिन्छ। यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनको लागि ऋण लगानी गर्न सकिन्छ। तपाईले गर्ने व्यवसायका लागि चाहिने कृषि यन्त्रहरु, औषधि तथा दानापानीका लागि यो रकम खर्चिन सकिन्छ। 

कसरी लिने ऋण ?  

तपाईले सबैभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं। लिनुपर्छ। 

अब कम आधार व्याजदर भएको बैंक छानेर त्यसको नजिक रहेको शाखामा जानुहोस्। महिला उद्यमशिलता  कर्जा मागको आवेदन भर्नुहोस्। यसका लागि तपाईले गर्ने व्यवसायको सम्पूर्ण विवरण र योजना चाहिन्छ। 

बैंकले उपलव्ध गराएको परियोजनाको ढाँचमा यी विवरण भर्नुहोस्।  त्यस्तै तपाईको र परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी पनि चाहिन्छ। 

सस्तो व्याजका लागि आधार व्याजदर हेर्नुहोस्, कुनको कति ?

 Bank   Base Rate (Ashwin) 
Rastriya Banijya Bank 6.33%
 Nepal Bank  7.52%
Nabil 8.06%
 Standard Chartered  8.14%
 Everest  8.80%
Nepal Investment 9.03%
Himalayan  9.22%
 Prabhu  9.49%
Prime 10.39%
Nepal SBI 10.43%
 Sanima  10.55%
Mega 10.55%
 Global IME  10.59%
 Siddhartha  10.62%
Bank of Kathmandu 10.62%
NMB 10.68%
NIC Asia 10.77%
Nepal Bangladesh 10.84%
Sunrise 10.97%
 Civil  10.98%
 Kumari  11.09%
 Machhapuchchre  11.21%
Janata 11.22%
 Laxmi  11.28%
Nepal Credit & Commerce 11.45%
 Citizens  11.47%
Century 11.51%
 Agriculture Dev  12.32%

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]