December 16th, 2018

‘शनिबारको साटो आइतबार बैंकहरु बन्द गरौँ’– उद्योगी 

बैंकिङ खबर । उद्योगी व्यवसायीहरुले शनिबारको साटो आइतबार बैंकहरु बन्द गर्ने प्रस्ताव गरेका छन्। गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेर यसअघि बुझाएका १८ बुँदे मागमध्ये उनीहरुको यो एउटा माग हो। 

भारतसहित विभिन्न देशहरुमा आइतबार सार्वजनिक विदा हुने गरेको छ। जसले गर्दा आइतबार ति देशका बैंकहरु बन्द रहन्छन्। यसले गर्दा उद्योगी व्यवसायीलाई एलसी खोल्ने काम आइतबार प्रभावित हुने गरेको छ। 

शुक्रबार बैंकहरुमा आधा समय मात्रै काम हुने, शनिबार स्वदेशका बैंकहरु बन्द हुने, आइतबार विदेशी बैंकहरु बन्द हुने हुँदा सातामा तीन दिनको समय अन्तर्राष्ट्रिय बैंकिङ कारोबार हुन नसकेको महासंघको ठहर छ।

महासंघले बुझाएको ज्ञापनपत्रको १६ नं. बुँदामा भनिएको छ ‘नेपालमा शुक्रबार आधा दिनमा छुट्टी हुने,  विदेशमा आइतबार छुट्टी हुने भएकोले शुक्रबार, शनिबार र आइतबार गरी तीनदिनको कार्य प्रभावित हुने भएकोले नेपालका बैंकको बिदा अन्तर्राष्ट्रिय बैंकहरु संग मिल्ने हुनुपर्यो, शुक्रबार बैंकहरु पुरा दिन कार्य गर्नुपर्यो।’ शुक्रबार र शनिबार पुरा दिन बैंकहरु खोल्नुपर्ने र आइतबार बन्द गर्न महासंघले आग्रह गरेको हो। 

यो विषयमा राष्ट्र बैंक भने कुनै निर्णय गर्न सक्ने अवस्थामा छैन। शनिबार सम्पूर्ण रुपमा सार्वजनिक बिदा हुने गरेको र सार्वजनिक बिदा हुने शनिबार बैंकहरु मात्रै खोलेर आइतबार बन्द गर्ने अवस्था नरहेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन्। 

सम्पूर्ण रुपमा शनिबारको साटो आइतबार विदा गर्नेगरी सरकारले निर्णय गरेमा मात्रै उद्योगीहरुले भनेजस्तो गर्न सकिने ति अधिकारीहरुको भनाइ छ। 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]