ग्रीन डेभलपमेण्ट बैंकले आइतबारदेखि साधारण शेयर निष्काशन गरेको छ । ४ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले एक सय रुपैयाँ अंकित दरका ४ करोड ५० लाख रुपैंया बराबरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
बागलुङमा मुख्य कार्यालय रहेको बैँकले साधारण शेयर निष्कासनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । बबागलुङमा मुख्य कार्यालय रहि ३ जिल्लामा सेवा दिंदै आएको बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण शेयर निष्काशन गरेको हो । अहिले बैंकको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैंया छ ।
एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार न्युनतम ५० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदकले मुलुकभरका विभिन्न स्थानबाट आवेदन दिन सक्नेछन् । बैंकका कर्मचारीका लागि ९ हजार तथा संस्थागत लगानीकर्ताहरुका लागि २२ हजार ५ सय कित्ता शेयर यस अघि नै सुरक्षित गरिएको बैंकको साधारण शेयर निष्काशन छिटोमा जेठ २६ गते र ढिलोमा असार ५ गते बन्द हुने एनआइबिएल क्यापिटलले जनाएको छ ।
बैङकको अधिकृत पूँजी ५० करोड र जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ ।