December 13th, 2018

भारु दुई सय, पाँच सय र दुई हजारका नोट नेपालमा नचल्ने

बैंकिङ खबर। भारु दुई सयका नोट पनि नेपालमा नचल्ने भएको छ। यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा २ सयका नोट पनि प्रतिबन्ध लगाइएको हो।

 अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ। यदी कसैले यस्ता नोटको कारोबार गरेमा प्रचलित कानूनअनुरुप कारबाही हुनेछ । 

मन्त्रिपरिषदको बैठकले भारतले हालै ल्याएका २ सयमाथिका नयाँ नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले गरेको सो निर्णयको बिहीबार मात्रै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।

भारु १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र एक हजारका पुराना नोट विस्थापित गरी नयाँ नोटहरु प्रचलनमा ल्याएको हो। पाँच सय, दुई सय र दुई हजारका नयाँ भारु नोटहरु भारतमा चलचल्तीमा आएका छन्। 

पुराना पाँच सय र १ हजारका नोट बिस्थापित गर्ने क्रममा नेपालमा रहेका नोट भने भारतले सटही गरिदिएको छैन। अब यो नोट सटही हुने संभावना सकिएको विज्ञ बताउँछन्। बैंकिङ प्रणालीमा मात्रै ३ करोड ३२ लाख रुपैयाँ यस्ता नोट छन्।

त्योबाहेक राष्ट्र बैंकसँग साढे २ करोड बढी रकमको भारु पाँच सय र हजारका नोट छ। अनौपचारिक क्षेत्रमा धेरै भारु नोट रहेकाले ३ अर्ब बढीको रहेको अनुमान छ। 

नेपालबाट भारतमा रोजगारीमा जानेलाई सहजता दिन भन्दै सरकारले नोट प्रतिबन्द हुनुअघि पाँच सय र हजारका भारु चलनचल्तीमा ल्याएको थियो। नेपाल र भारतबीच अहिलेसम्म पनि स्थिर बिनिमयदर १ सय भारु बराबर १ सय ६० रुपैयाँ छ।