November 19th, 2018

निक्षेप र मुनाफामा राष्ट्रिय वाणिज्य बैंक अगाडी

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वाधिक मुनाफा आर्जन गर्ने बैंक बनेको छ । बैंकले तीन महिनामा नै एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.७२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल फाइनान्सिङ रिपोर्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार बैंकको लाभांश क्षमता फ्रि प्रोफिट ७२ करोड २३ लाख मात्र रहेको उल्लेख छ ।

सर्वाधिक नाफा गर्ने दोस्रो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकभन्दा छ करोडभन्दा बढीले पछाडी छ । इन्भेष्टमेन्ट बैंकले तीन महिनामा एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासमा नै अर्बमाथि नाफा गर्ने यी दुई बैंक मात्रै हुन् । 

मुनाफासँगै निक्षेपमा पनि लिड गरेको राष्ट्रिय वाणिज्य बैंक कर्जा लगानीमा भने पछाडी देखिएको छ । निक्षेपमा १०.५३ प्रतिशतले वृद्धि गरी एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १२.८४ प्रतिशत वृद्धि गरी एक खर्ब २३ अर्ब ९० करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । निक्षेपमा बैंकले एनआईसी एशिया बैंकलाई थोरैले पछि पारेको छ । एनआईसी एशिया बैंकको यो अवधिमा निक्षेप संकलन एक खर्ब ६३ अर्ब ३० करोड ७६ लाख रुपैयाँ रहेको छ । 

कर्जामा भने एनआईसी एशिया बैंक  राष्ट्रिय वाणिज्य बैंकभन्दा अगाडी रहेको छ । बैंकले तीन महिनामा एक खर्ब ३९ अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, नविल बैंक एक खर्ब २८ अर्ब कर्जा विस्तारसहित दोस्रो स्थानमा छ । नेपाल इन्भेष्टमेन्ट बैंक एक खर्ब २४ अर्ब कर्जा लगानीसहित तेस्रो स्थानमा छ । राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ ।  

पहिलो त्रैमासको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी नौ अर्ब ४७ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा १२ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ३.८३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १३.७५ प्रतिशत र प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७२ पैसा रहेको छ । बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ९९ प्रतिशतले बढेर एक अर्ब ११ करोड २६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ दशलमव ६२ प्रतिशतले बढेर एक अर्ब ५८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।