बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा ४१.२ प्रतिशतले बढेको छ । भदौ मसान्तसम्मको तथ्यांकअनुसार, कुल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई दुई खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ । जबकी, अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७५।७६ को दुई महिनामा कुल वस्तु निर्यात आठ प्रतिशतले वृद्धि भई १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तब्यका आधारमा भारततर्फ १३.६ प्रतिशत, चीनतर्फ ११.४ प्रतिशत र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुस, लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
कुल वस्तु आयात भने ३८.५ प्रतिशतले बढेर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३८.९ प्रतिशत, चीनबाट भएको आयात १३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, मेची भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट गरिएको निर्यातमा वृद्धि भएको छ भने नेपालगञ्ज, वीरगञ्ज सुख्खा वन्दरगाहा भन्सार कार्यालय, कृष्णनगर तथा कैलाली भन्सार नाकाहरूबाट गरिएको निर्यातमा भने ह्रास आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा वीरगञ्ज भन्सार कार्यालय, सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा वृद्धि भएको छ भने अन्य नाकाबाट भएको आयातमा कमी आएको छ ।