October 5th, 2018

सेयर बजार उर्लियो विराटनगरमा

बैंकिङ खबर । गत असोज १५ गतेदेखि नेपालमा लगानीकर्ता सप्ताह चलिरहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोको आह्वान अनुसार हाल मनाईरहेको लगानीकर्ता सप्ताहको अवसारमा धितोपत्र बजारको प्रादेशिक स्तरबाट विकासको विगुल फुक्न प्रदेश १ को एैतिहासिक तथा औद्योगिक नगर विराटनगरमा पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना भएको छ । आज (शुक्रबार) उद्घाटन भएको कार्यक्रममा सेयर बजारसँग सम्बन्धित सबै पक्षहरुको सहभागीता रहेको छ । 

धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रममा बोर्डको प्रादेशिक कार्यालय प्रदेश नं. १मा स्थापना गर्ने, प्रदेश तथा स्थानीय तहमा धितोपत्र दलाल व्यवसाय खोल्न अनुमति दिने प्रदेश स्तरमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने तथा प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना गर्ने जस्ता कार्यक्रम समावेश गरेको छ । त्यसै कार्यअन्तर्गत यो प्रदर्शनीको आयोजना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

११५ सूचनामूलक स्टल
यस ऐतिहासिक र पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप प्रणाली, धितोपत्र व्यवसायीहरु, मर्चेन्ट बैंकरहरु, सामुहिक लगानी कोष संचालक, धितोपत्रको प्राथमिक निष्काशनमा सहभागी हुन आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरु र साख मुल्यांकन संस्थाहरुको सक्रिय सहभागीता रहेको छ । प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नागरिक लगानी कोषसहित २५ वटा मर्चेन्ट बैंकर्स, ५० वटा सेयर ब्रोकर एवम् बैंक तथा वित्तीय संस्थासहित गरेर कुल ११५ सूचनामूलक स्टलहरु रहेका छन् ।  

धितोपत्र र विनिमय बजारसम्बन्धी सम्पूर्ण जानकारी
प्रदर्शनीमा सहभागी हुन आउनेले एकै छानामुनि धितोपत्र र वस्तु विनिमय बजारसम्बन्धी विविध जानकारी पाउनेछन् । प्रादेशिक पुँजी बजार प्रदर्शनीको अवसर धितोपत्र र वस्तु विनिमय बजारका विविध पक्षहरुलाई समेट्ने गरी देशका ख्यातीप्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुती र टिप्पणी रहने गरी दुई छुट्टा छुट्टै विषय शीर्षकमा अन्तरक्रिया कार्यक्रम हुनेछन् । प्रदर्शनीमा नेपालको धितोपत्र र वस्तु विनिमय बजारसम्बन्धी जानकारीमूलक प्रकाशनहरु समेत निःशूल्क पाइनेछ । बजारमा आधारित पुँजी परिचालन व्यवस्था सम्बन्धी जानकारी र प्रदेश तथा स्थानीय क्षेत्रको विकास निर्माणका लागि आवश्यक पुँजी परिचालनको सम्भावनाका सम्बन्धमा जानकारीका साथै धितोपत्र बजार सम्बन्धमा सीधा प्रश्न, गुनासा तथा जिज्ञासा राख्ने अवसर प्रदर्शनीमा पाइनेछ ।   

एक नेपाली, एक डिम्याट खाताको सुरुवात
प्रदर्शनीमा आर्थिक, बैंकिङ तथा धितोपत्र बजारसम्बन्धी प्रादेशिक परिसूचकको विमोचन हुनुका साथै एक नेपाली एक डिम्याट अभियाको सुरुवात समेत यस प्रदर्शनीमा गरिने बोर्डले जानकारी दिएका छ । सहभागीहरुलाई निःशूल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिने बताइएको छ । 

बोर्डले असोज १५ गतेदेखि २१ गतेसम्म धितोपत्र बजारका आम लगानीकर्ताहरुको सशक्तिकरण गर्ने उद्देश्यले  विभिन्न सचेतना तथा जानकारीमूलक कार्यक्रमको आयोजना गरी लगानीकर्ता सप्ताह मनाइरहेको छ । सप्ताहको पहिलो दिन विशाल प्रभातभेरी कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछिका दिनमा पनि बोर्डले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।