मनोज कुमारलाल कर्ण । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानवीय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । वा दुर्घना अनिश्चित हुन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो ।
अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् ।
अहिलेको समयमा जीवन बीमाको अवस्थामा एकदमै राम्रो छ । गत वर्षदेखि बीमाको व्यापार बढेको छ । यसपालि करिब ३० प्रतिशत व्यापार बढ्न सक्ने देखिन्छ । जीवन बीमा कम्पनीहरुको व्यवसायिक सम्भावनाहरु धेरै छन् । त्यसकारणले नयाँ नयाँ बीमा कम्पनीहरु खोलिएका छन् । बीमा कम्पनीहरुले शाखा पनि विस्तार गरिरहेका छन् । त्यही हिसाबले विजनेस पनि बढिरहेको छ । नेपालमा भएका १८ वटै जीवन बीमा कम्पनीहरुले विजनेश रामै्र गरिरहेका छन् । अहिलेको सन्दर्भमा हेर्दा ११ प्रतिशत मानिसहरुले बीमा गरेका छन् । बाँकी ८९ प्रतिशत मानिसहरु बीमाको दायरा बाहिर रहेकाले बीमाको सबै मार्केट खाली छ । अधिकांश मानिसहरु बीमाको पहुँच बाहिर हुनाले बजारमा बीमाको सम्भावना धेरै रहेको छ ।
बीमा क्षेत्रमा व्यापारको सम्भावनासँगै थुप्रै च्नौतीहरुको सामना गर्नुपगरेको छ । अहिलेको अवस्थामा बीमा कम्पनीहरुमा त्यति साह्रो चुनौती नभएता पनि केही चुनौती भने पक्कै रहेको छ । विशेषगरी मेनपावरको कुरामा चुनौती रहेको थियो । समय थपिएका नौ वटा जीवन बीमा कम्पनीहरुलाई डिपार्टपेन्टल हेड नियुक्तिका लागि केही संख्यामा अनुभवी व्यक्ति आवश्यक पर्दछ । केही जनशक्ति पूराना बीमा कम्पनीहरुबाट ल्याइएको छ । तर, सबै कर्मचारी त्यसरी ल्याउन सकिँदैन । यसका लागि बीमा कम्पनीहरुले बजारबाट नयाँ नयाँ कर्मचारीहरु र मेनपावरहरुलाई ट्रेनिङ दिएर तयार गरे । जसकारण अहिलेको स्थितीमा मेनपावरको खासै खाँचो छैन । मेनपावरको खाँचो बजारमा भने पक्कै छ । तर, सबै बीमा कम्पनीहरुले आफैँले तालिम, प्रशिक्षण दिएर आफ्नो मेनपावरको खाँचोलाई समाधान गरिरहेका छन् ।
नेपालमा बीमा पहुँच अत्यन्त कम छ । हाल ११ प्रतिशत मानिसहरु मात्र बीमाको दायरा भित्र रहेका छन् । यसभित्र मध्यम वर्गीय, उच्च वर्ग र कमाई धेरै हुने व्यक्तिहरु पर्दछन् । बीमा सबैले गर्नुपर्छ । अहिलेको अवस्थामा हरेक मानिसलाई सुरक्षा चाहिने हुनाले बीमा गर्नु जरुरी छ । सबैलाई बुढेसकालमा पैसाको आवश्यकता पर्दछ । बीमाले उक्त आवश्यकतालाई परिपूर्ति गरि बुढेसकालमा आईपर्ने हरेक समस्यालाई सहज बनाउँछ । बीमाबाट आएको पैसाले आफ्नो छोराछोरीको पढाई खर्चदेखि लिएर विवाहसम्म गर्न सकिन्छ । घरको मुख्य कमाउने व्यक्तिको मृत्यु भएतापनि उसको अनुपस्थितीमा घरपरिवारको आर्थिक अवस्था सहज रुपमा चल्न सक्छ । त्यसकारण बीमा साक्षरता अभिबृद्धि गर्नेका लागि पहाडी वा ग्रामीण क्षेत्रका मानिसहरुलाई बढि भन्दा बढि मात्रामा बीमाका बारेमा बुझाउनुपर्छ ।
गाउँकै व्यक्तिहरुलाई अभिकर्ता बनाउनुपर्छ । अभिकर्तालाई बीमा कम्पनीले तालिम, प्रक्षिण लगायतका कुराहरु दिर्नुपर्छ । बीमा गर्ने तरिका सिकाउनुपर्छ । मलाई लाग्छ यस्तो तरिका अपनाएर गयोे भने बढीभन्दा बढी व्यक्तिहरुको बीमा गर्न सकिन्छ । (युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णसँग बैंकिङ खबर डट कमले गरेको कुराकारीमा आधारित ।)