बैंकिङ खबर । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएका छन् । प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरी कार्यालय संचालन गरेको भन्दै उनले राष्ट्र बैंकको जनकपूरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्रदेश नं. २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आइतबार रक्षाबन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु नियमित रुपमा नै संचालन भइरहेका छन् । निजी बैंक तथा वित्तीय संस्था एवम् जिल्ला प्रशासन कार्यालय अन्तर्गतका सबै निकाय खुलेका छन् । यसरी प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री एक टोलीसहित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।