नेशनल बैंकिङ इन्ष्टिच्युटले वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यहरुको लागि ‘डाइरेक्टर्स रिफ्रेसर कोर्स’ बिषयक दुई दिने आवसीय तालिम सम्पन्न गरेको छ । संस्थागत सुशासन, निक्षेपकर्ताहरुको निक्षेपको सुनिश्चितता, सरोकारवालाहरुको आकांक्षा अनुरुपको काम आदि बिषयहरुलाई समेटेर एनआइबीले बैंक संचालकहरुलाई तालिम दिएको हो । सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थाको नीति नियम बनाउँदा समय समयमा अद्यावधिक भएको नीति, नियम, निर्देशिका तथा परिपत्रहरुलाई ध्यानमा राख्नुपर्ने कुरालाई मध्येनजर गरेर तालिम आयोजना गरिएको एनबिआइले जनाएको छ ।
बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति भन्ने बिषयमा केन्द्रीत तालिममा बैंकका अध्यक्ष र सदस्यहरु गरी ४० जनाको सहभागिता थियो । बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति विषयहरुमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था नियमन विभाग नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले प्रस्तुती दिएका थिए । तालिम शनिबार सम्पन्न भएको हो ।