चालू आर्थिक वर्ष २०७२/७३ को ९ महिनामा अन्तरबैङ्क कर्जा कारोबार गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढेको छ । यो अवधिमा वाणिज्य बैँकहरुले ६ खर्ब ४० अर्ब रुपैयाँ अन्तरबैँक कारोबार गरेको पाइएको छ भने बैँक तथा फाइनान्स कम्पनिहरुले ६१ अर्ब ४७ करोड रुपैँयाको यस्तो कारोबार गरेको पाइएको छ । गत आवको सो अवधिमा वाणिज्य बैँकहरुले ३ खर्ब २९ अर्ब रुपैयाँ अन्तरबैङ्क कारोबार गर्दा विकास बैङ्क र वित्त कम्पनीले १ खर्ब ६३ अर्ब रुपैयाँको यस्तो कारोबार गरेका थिए ।
पुर्नकर्जाको उपयोगमा कमी
चैतमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी १५ प्रतिशतले बढेर १५ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । बैङ्कहरूको निजीक्षेत्रतर्फको कर्जा भने १४ दशमलव ४ प्रतिशत बढेको छ । बैङ्कहरूले उत्पादनशील क्षेत्रमा अनिवार्य रूपमा २० प्रतिशत कर्जा लगानी गर्नुपर्ने भए पनि करीब १६.३२ प्रतिशतमात्र लगानी गर्न सकेका छन् । त्यस्तै, निर्यात र उत्पादनशील क्षेत्र विस्तारको लागि राष्ट्र बैङ्कमार्फत सहुलियत दरमा दिँदै आएको पुनर्कर्जाको उपयोग घटेको छ । साधारण पुनर्कर्जा २ अर्ब २६ करोड र निर्यात पुनर्कर्जा १ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको हो । भूकम्पपीडितका लागि सहुलियत दरमा दिइएको कर्जा १ करोड ४० लाख रुपैयाँभन्दा बढी उपयोग भएको छैन । बैङ्कहरूको निक्षेप भने १२ प्रतिशतले बढेर १९ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।
तरलता संकुचनमा सुधार
गत चैतमा यस्तो कर्जाको कारोबार हुँदा भारित औसत ३ प्रतिशतको दरमा चलेको ब्याजदर त्यसयता ५.६६ प्रतिशत दरसम्म पुगेको थियो । हाल भने सो व्याजदर १ प्रतिशतभन्दा पनि तल झरेको छ । यो तरलता सङ्कुचनको अवस्थामा सुधार आएको संकेत हो । यो अवधिमा बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले ४ खर्ब ७१ अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ ।
नियन्त्रण हुँदै मूल्यवृद्धिदर
चालू आवको दोस्रो त्रैमाससम्ममा १२.१ प्रतिशतसम्म पुगेको मूल्य वृद्धिदर चैतमा २.४ प्रतिशतले घटेको छ । अहिले मुद्रावृद्धिदर ९.७ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर ९.३ र गैरखाद्य र सेवाको वृद्धिदर १० प्रतिशत रहेको छ । काठमाडौंमा भने अझै मूल्यवृद्धि दर ११.७ प्रतिशतको हाराहारीमा रहेको छ भने तराईमा ८.३ र पहाडमा ८ प्रतिशत रहेको छ ।
मुद्राप्रदायमा वृद्धि
बजारमा चैत अवधिमा मुद्राप्रदाय (मुद्रा प्रवाह) १३ प्रतिशतले बढेको छ । जसमध्ये, सङ्कुचित मुद्राप्रदाय (नगद, चल्ती, बचत तुरुन्तै तरल हुने सम्पत्ति) १५ प्रतिशतले र विस्तृत मुद्राप्रदाय (मुद्दती खातामा रहेको रकम) १२ प्रतिशतले बढेको छ । वैदेशिक सम्पत्ति झन्डै २२ प्रतिशतले बढेर ९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । फलस्वरुप, सङ्कुचित मुद्राप्रदायमा गणना हुने नयाँ निष्कासित नोटको प्रवाह पनि बढेको छ । १७ प्रतिशतको वृद्धिसहित ३ खर्ब १७ करोड रुपैयाँबराबरका नयाँ नोट निष्कासन भएको छ भने विप्रेषण १३ प्रतिशतले बढेर ४ खर्ब ८१ अर्ब रुपैयाँ पुग्दा शोधनान्तर बचत २१ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।