रुपा कोइराला/बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकबाहेक क वर्गका सबै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । २७मध्ये २३ वटा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा बढेको विवरण सार्वजनिक गरेका छन् । २५ वटा बैंकको नाफा अर्बभन्दा बढी रहेको छ । नाफा रकमको आधारमा अग्रस्थानमा नविल बैंक रहेको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ ।
नविल बैंक लिमिटेडले चार अर्ब पाँच करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष १२.२२ प्रतिशत प्रगति हासिल गरेको हो । नाफाका आधारमा दोस्रो स्थानमा रहेको कृषि विकास बैंकले ४४.१३ प्रतिशत प्रगति हासिल गर्दै तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा दुई अर्ब ५४ करोड ८६ लाख रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा पनि तीन अर्बमाथि छ । १४.९२ अंकको वृद्धिसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले १४.९२ प्रतिशत वृद्धि गरी तीन अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेपाल बैंकले ९.०५ प्रतिशत वृद्धिसँगै तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा क्रमशः तीन अर्ब ११ करोड ४१ लाख रुपैयाँ र तीन अर्ब ११ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
दुई अर्बमाथि नाफा गर्ने चार बैंक
दुई अर्बमाथि नाफा गर्ने चार बैंक छन् । एभरेष्ट बैंकले दुई अर्ब ७८ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.८९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा एभरेष्टको नाफा दुई अर्ब पाँच करोड चार लाख रुपैयाँ थियो । त्यस्तै, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले क्रमशः दुई अर्ब ४७ करोड ४५ लाख, दुई अर्ब १५ करोड ६५ लाख र दुई अर्ब सात करोड ३३ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा क्रमशः १३.६०, ७.५० र ४५.८५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा हिमालयनले दुई अर्ब १७ करोड ८३ लाख, ग्लोबल आईएमईले दुई अर्ब ६१ लाख र स्टान्डर्ड चार्टर्डले एक अर्ब ४२ करोड १५ लाख रुपैयाँ नाफा गरेका थिए ।
अधिकांशको नाफा एक अर्बमाथि
नेपाल एसबिआई बैंकले अघिल्लो आर्थिक वर्षको एक अर्ब ५२ करोड ३२ लाख रुपैयाँको तुलनामा २७.९६ प्रतिशत बढाएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । प्राइम कमर्सियल बैंकले एक अर्ब ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा प्राइमको नाफा एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँ थियो ।
सिद्धार्थ बैंकको नाफा ३३.८१ प्रतिशतले बढेर गत वर्ष एक अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा एक अर्ब ३८ करोड ६१ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको एनएमबि बैंकले गत वर्ष २३.५५ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ८१ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ ।
सानिमा बैंकको नाफा एक अर्ब ३० करोड ४१ लाख रुपैयाँबाट २९.८७ प्रतिशतले बढेर एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने बैंक अफ काठमाण्डूको नाफा एक अर्ब ३१ करोड २३ लाख रुपैयाँबाट १८.०१ प्रतिशत वृद्धि भई एक अर्ब ५४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकले एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको एक अर्ब २८ करोड ८० लाख रुपैयाँबाट १६.२० प्रतिशत वृद्धि गरी एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ ।
सिटिजन्स बैंकले एक अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको एक अर्ब आठ करोड १६ लाख रुपैयाँको तुलनामा ३०.२१ प्रतिशत बढी हो । सनराइज बैंकको नाफा ११.५४ प्रतिशतले बढेर एक अर्ब ३१ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा सनराइजको नाफा एक अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
माछापूच्छ्रे बैंकको नाफा भने एक अर्ब ३० करोड २४ लाख रुपैयाँबाट ७.०५ प्रतिशतले घटेर एक अर्ब २१ करोड छ लाख रुपैयाँ कायम भएको छ । लक्ष्मी बैंकको नाफा एक अर्ब ६६ लाख रुपैयाँबाट १५.८७ प्रतिशतले बढेर एक अर्ब १६ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने प्रभु बैंकको नाफा एक अर्ब ७५ करोड १५ लाख रुपैयाँबाट ३५.५१ प्रतिशतले घटेर एक अर्ब १२ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । नेपाल बंगलाबदेश बैंकको नाफा पनि अघिल्लो आर्थिक वर्षमा एक अर्ब २० करोड तीन लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ७.७० प्रतिशतले घटेर एक अर्ब १० करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।
एनसीसी बैंकले अघिल्लो आर्थिक वर्षको एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँको तुलनामा १९.१४ प्रतिशत कम अर्थात् एक अ र्ब सात करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मेगा बैंकले ७९ करोड ३० लाख रुपैयाँबाट ३२.०५ प्रतिशतले फड्को मार्दै एक अर्ब चार करोड ७१ लाख रुपैयाँ मुनाफाका साथमा अर्वपति क्लबमा प्रवेश गरेको छ । कुमारी बैंक पनि एक अर्ब १४ लाख रुपैयाँ मुनाफा आर्जन गरी पहिलोपटक अर्वपति क्लबमा प्रवेश गरेको छ । अ घिल्लो आर्थिक वर्षमा ७० करोड तीन लाख रुपैयाँ रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ४२.९९ प्रतिशत बढी नाफा गरेको हो ।
तीन बैंकको नाफा एक अर्बभन्दा कम
जनता बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा बढे पनि एक अर्बभन्दा कम रहेको छ । जनता बैंकले ६३ करोड ३१ लाख रुपैयाँबाट ४७.६४ प्रतिशतको फड्को मारेर ९३ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सेञ्चुरी बैंकको नाफा ५० करोड १३ लाख रुपैयाँबाट ७४.६७ प्रतिशतले बढेर ८७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ३४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको सिभिल बैंकले गत आर्थिक वर्षमा ८५.२० प्रतिशत वृद्धि हासिल गर्दै ६४ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको विवरण केही दिनमा आउने
२७ वटा बैंकले वित्तीय विवरण प्रकाशित गरिसक्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेको छैन । त्रैमास महिना सकिएको १५ दिनभित्रमा कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । तर, यसपाली साबिकको व्यवस्था भन्दा फरक ढाँचामा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाएर प्रकाशित गर्न त्रैमास सकिएको १५ दिनभित्रमा विवरण प्रकाशित गर्न सम्भव नभएपछि राष्ट्र बैंकले ३० दिनभित्रमा विवरण प्रकाशित गर्न निर्देशन दिएको थियो । जसअनुसार, बुधबारसम्ममा २७ वटै वाणिज्य बैंकले विवरण सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने केही दिनमा प्रकाशन गरिने जानकारी दिएको छ ।