बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड संचालनको प्रक्रिया तीव्र गतिमा भइरहेको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको बैंकले कार्तिकभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि निवेदन दिने हिसाबले काम गरिरहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताए ।
केके भयो काम ?
नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइएको मितिदेखि ६ महिना भित्रमा बैंकले अफिसको पूर्वाधार तथा इन्टर्नल डिजाइन, कर्मचारीको नियुक्ति, आइटीका सफ्टवेयरहरु र कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली, राइट अफ पोलिसीहरु लगायतको तयारी गरेर राष्ट्र बैंकमा सञ्चालन स्वीकृतिका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सोही कुरालाई मध्यनजर गरी बैंक स्थापनाका कामहरु दु्रतगतिमा अगाडि बढिरहेको डा. आत्रेयले जानकारी दिए ।
उनका अनुसार, बैंकले राष्ट्र बैंकको स्वीकृतिका लागि बुझाउनुपर्ने आर्थिक प्रशासन विनियमावली, कर्मचारी विनियमावली र कर्जा अभिलेखन विनियमावली बुझाइसकेको छ भने प्रशासनिक फारम तथा कर्जा लगानीका लागि नीति नियमहरुको मस्यौदा तयार भईसकेको छ । आइटी सफटवेयरको खरिद गर्ने प्रकृया पनि अगाडी बढिरहेको तथा प्रमुख कार्यकारी अधिकृत र कर्मचारीको नियूक्तिको लागि विज्ञापन पनि गरिसकेको उनले बताए ।
बैंकले कार्यालयको लागि वानेश्वरको कृष्ण टावरको पहिलो र दोस्रो तल्ला भाडामा लिईसकेको छ । कार्यालयको इन्टर्नल डेकोरेसनको लागि Contract Award समेत गरिसकेको डा. आत्रेयको भनाई छ ।
छ अर्ब पुँजी जम्मा
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लागि नेपाल राष्ट्र बैंकले जम्मा २० अर्ब रुपैयाँ चुक्तापुँजी तोकेकोमा १२ अर्ब संस्थागत अथवा प्रोमोटर समुहबाट र आठ अर्ब सर्वसाधारणबाट उठाउने योजनाअनुसार काम अघि बढिरहेको छ । ‘१२ अर्बमध्येमा सुरुमा ५ प्रतिशत र पछि ४५ प्रतिशत गरेर ५० प्रतिशत अथवा छ अर्ब, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विभिन्न बैंकहरुमा जम्मा भइसकेको छ,’डा. आत्रेयले भने, ‘बाँकी ६ अर्ब अन्तिममा अपोरेटिङ लाइसेन्स लिनको लागि राष्ट्र बैंकको निर्देशन बमोजिम जम्मा गरिनेछ ।’
पूर्वाधार विकास बैंकमा १० प्रतिशत नेपाल सरकारको लगानी रहेको छ भने प्रोमोटर समुहको ५० प्रतिशत लगानी रहेको छ । बाँकी ४० प्रतिशत लगानी सर्वसाधारणको लागि छुट्याईएको छ । प्रोमोटर समूहमा बैंकहरु, बीमा कम्पनीहरु, नेपालका प्रतिष्ठित उद्योगी, व्यापारीहरु, विजनेश हाउसहरु तथा इमर्जिङ्ग नेपाल रहेका छन् ।