दिनहुँ हजारौं मानिसहरुको ओहोर–दोहोर चलिरहने काठमाडौंका चोक र सडकको छेउमा जानकारीमूलक विभिन्न साईनबोर्डहरु टासिँएका हुन्छन् । तीमध्ये केही साइनबोर्डहरु नागरिक जनचेतना र जागरणका लागि टासिँएका हुन्छन् भने केही साइनबोर्डहरु विज्ञापन र नितान्त निजी स्वार्थको लागि टासिँएका हुन्छन् । काठमाडौँको माइतीघर मण्डला, जहाँ २४ सै घण्टा पैदलयात्री र सवारी साधनको चाप देख्न सकिन्छ । माइतिघर मण्डला छेउमा हरियाली छर्न फुल र विरुवाहरु रोपिएको स्थल, जहाँ दिनहुँ हजारौँ मानिसहरुको नजर डुलिरहेको हुन्छ । त्यही मण्डलाको छेउमै नागरिक सचेतनाको लागि विभिन्न साइनबोर्डहरु टासिँएका छन् । तीमध्ये केही यस्ता साइनबोर्डहरु छन्, जसमा कुनै संस्थाको निजी विज्ञापनका लागि ठूला–ठूला साहित्यकारहरुका भनाईको प्रयोग गरिएको छ । त्यति मात्र कहाँ हो र ? ती भनाईहरु लेख्ने लेखकलाई क्रेडिट समेत दिइएको छैन ।
तीनै साइनबोर्डहरुमध्ये एउटा साइनबोर्ड छ कृषि विकास बैंकको । साइनबोर्डमा लेखिएको छ ‘सावधानी अपनाऔँ, दुर्घटना हुनबाट बचौँ ।’ तल लेखिएको छ, ‘सम्बद्र्धक कृषि विकास बैंक लि.।’ राजधानीको केन्द्र माइतीघर मण्डला नजिकै सडकको मोडमा ठड्याइएका यस्ता साईन बोर्डहरु नागरिक सचेतनाको लागि भने पक्कै होइनन् । वास्तवमा हरबखत ट्राफिक प्रहरी खटाइएका क्षेत्रमा बैंकले यस्ता सुचनाहरु टाँसिरहन आवश्यक नै हुँदैन । पहिलो कुरा त ट्राफिक प्रहरी ड्युटीमा खटिरहने यस्ता क्षेत्रमा ‘ट्राफिक नियम पालना गरौँ’ भन्दै साइनबोर्डहरु ठड्याइनुले ट्राफिक प्रहरीकै काम र त्यसको प्रभावमाथि प्रश्न उठाउँछ । दोश्रो कुरा बैंकका लागि ट्राफिक सूचनाभन्दा ज्यादा वित्तीय साक्षरताको क्षेत्रमा लगानी गर्नु अझै जायज र प्रभावकारी मानिन्छ ।
मण्डला क्षेत्रमा कृषि विकास बैंकले बैंकको प्रचारको लागि यस्ता खाले धेरै साईनबोर्डहरु राखेको छ । त्यस्तै अर्र्को साइनबोर्डमा लेखिएको छ, ‘शहर सफा र स्वच्छ राखौँ’ । ‘महानगरपालिकाको काम पनि कृषि विकास बैंकले गरिदिएपछि महानगरपालिकाले वित्तीय साक्षरतामा बैंकहरुलाई सघाउँछ र ?’ एक बैंकर्स प्रश्न र्गछन्, ‘यो सचेतनाभन्दा ज्यादा विज्ञापन हो ।‘ यसबारे कृषि विकास बैंकका सिईओ लिलाप्रकाश सिटौंलालाई सोध्दा नागरिक सचेतनाको लागि साइनबोर्डहरु टाँसिएको बताए । उनले भने, ‘यससँग सम्बन्धित निकायले ध्यान नदिएका कारण सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले साइनबोर्डहरु टाँसेका हौं ।’ त्यसरी साइनबोर्ड राख्नुमा बैंकको कुनै स्वार्थ नभएको उनको दाबी छ ।
नेपालमा वित्तीय साक्षरता अझै पनि ६० प्रतिशत नेपालीहरुसम्म पुग्न सकेको छैन । सकभर काठमाडौंलाई फोहोर बनाउन साईनबोर्डहरुमा बैंकहरुले खर्च नगरेकै राम्रो । अथवा केही साईन बोर्ड राख्दा पनि वित्तीय साक्षरतासम्बन्धी सूचनाहरु राखे त्यसले बैंक तथा वित्तीय क्षेत्रको विस्तारलाई नै सघाउ पुग्ने थियो । साईन बोर्डहरुमार्फत शहरबासीलाई नैतिक शिक्षा पढाउन बैंकले गर्ने खर्च ग्रामीण भेगमा बैंकिङ साक्षरताका लागि विभिन्न कार्यक्रम, सम्मेलनमा गर्न सके बैंक तथा वित्तीय क्षेत्रका लागि मात्रै नभएर ग्रामीण भेगका जनता पनि वित्तीय साक्षरतामा समेटिने थिए ।