Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

व्यवस्थित बन्दै सीआस्वा प्रणाली

२०७५ जेष्ठ १४ गते

बैंकिङ खबर । सीआस्वा प्रणाली अझ व्यवस्थित बन्ने भएको छ । सीआस्वा प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिने भएपछि सीआस्वा थप व्यवस्थित हुने भएको हो । लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर समय समयमा कनेक्टिभिटि जाने तथा सिस्टम ह्याङ हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको गुनासो आएपछि सोको समाधानतर्फ सम्बन्धित निकायहरु जुटेका छन् ।

प्राविधिक समस्याको समाधान
नेपाल धितोपत्र बोर्डले सीआस्वा प्रणालीमा देखिएको कनेक्टिभीटी, सिस्टम ह्याङ लगायतका समस्या समाधान गर्न निर्देशन दिएपछि सो सम्बन्धमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ध्यानाकर्षण भएको छ । सीडीएससीले बोर्डले निर्देशन दिएअनुरुप सी–आस्बा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटी क्षमता वृद्धि गरी सहज रूपमा सी–आस्बा सेवा सुचारु रहने संयन्त्रको विकास गर्ने जनाएको छ ।

रियल टाइम जानकारी
सार्वजनिक निष्कासनको आवेदन भर्दा लगानीकर्तालाई रियल टाइम जानकारी दिने व्यवस्था समेत हुने भएको छ । जसअनुसार, आवेदन दिँदा ग्राहकको खातामा रहेको रकम तत्काल रोक्का हुने व्यवस्थासहित आवेदनको सुनिश्चितताका बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने व्यवस्था हुनेछ ।

तालिमको व्यवस्था
सी–आस्बा प्रदायक बैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान  गरिने भएको छ । सो सम्बन्धमा सम्बन्धित निकायलाई धितोपत्र बोर्डले निर्देशन दिइसकेको छ ।

सीआस्वाबारे प्रचारप्रसार
सीआस्वाबारे लगानीकर्तालाई जानकारी गराउन प्रचारप्रसार एवम् जानकारीमूलक कार्यक्रमहरु समेत गरिने भएको छ । धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सेवाग्राहीलाई सीआस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्नका लागि पर्याप्त प्रचार प्रसार गर्न निर्देशन दिएको छ ।