राम खत्री/बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले प्रदेश नम्बर ७ मा निक्षेपभन्दा बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेश नम्बर ७ मा बैंक तथा वित्तीय संस्थाको लगानी ७१ अर्ब रुपैयाँ पुगेको छ । जबकी सोही अवधिसम्म यो प्रदेशबाट ४६ अर्ब रुपैया निक्षेप सङ्कलन भएको छ । सात नम्बर प्रदेशमा सञ्चालीत २०८ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेप सकलन तथा कर्जा प्रवाहको कार्य गरिरहेका छन् ।
प्रदेश सातमा विकास र समृद्धिका लागि लगानी गर्ने थुप्रै क्षेत्रहरु हुन् । विषेषगरी कृषि, पर्यटन, विद्युत, मेगा प्रोजेक्टहरुमा लगानी गर्ने राम्रो अवसरहरु छन् । खप्तड, रामारोशन, उर्जा लगायतमा लगानी गर्ने ठाउँहरु छन् । साना मझौला स्तरका उद्योगमा पनि लगानी गर्ने अवसर छ । विकासका दृष्टिकोणमा पछि परेको प्रदेश नम्बर सातमा विस्तारै लगानीको वातावरण बन्दै गएको छ ।
कृषि कर्जामा ६१ प्रतिशत वृद्धि
किरण पण्डित, निर्देशक, नेपाल राष्ट्र बैंक, धनगढी
बैँक तथा वित्तीय संस्थाले निक्षेपभन्दा करिब २५ अर्ब बढी रुपैया लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अन्यत्रबाट स्रोत ल्याएर पनि यहाँ कर्जा प्रवाह गर्ने गरेको देखिन्छ । अघिल्लो वर्षको पुस महिनादेखि चालू आर्थिक वर्षको पुस महिनासम्म कृषि कर्जा ६१ प्रतिशतले बृद्धि भएको छ । औद्योगिक क्षेत्रमा ऋण प्रवाह २५ प्रतिशतले बृद्धि भएको छ, यसरी हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले अन्य ठाउँको निक्षेप पनि यो प्रदेशमा लगानी गरिरहेका छन् । यो क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनशील क्षेत्रमै लगानी गर्नु पर्नेमा नेपाल राष्ट्र बैंकले पनि जोड दिएको छ । अझै पनि कृषि, पर्यटन, विद्युत, मेगा प्रोजेक्टहरुमा लगानी गर्ने धेरै ठाउँहरु रहेका छन् । खप्तड, रामारोशन, उर्जा लगायतमा लगानी गर्ने ठाउँहरु छन् । साना मझौला स्तरका उद्योगमा पनि लगानी गर्ने अवसर छ ।
जोखिम व्यवस्थापनको संयन्त्र आवश्यक
टेकराज भट्ट, क्षेत्रीय प्रबन्धक, एनआइसी एसिया बैंक
लगानीको वातावरण बनाउनतर्फ राज्यले पनि ध्यान दिनुपर्छ । हाम्रो प्राथमिकता लगानीमै भए पनि जोखिमबाट जोगिनका लागि राज्यले जोखीम व्यवस्थापनको संयन्त्रहरु बताउन आवश्यक छ ।
कर्जा प्रवाह गर्न गाह्रो छैन
महेन्द्र रावल, शाखा प्रबन्धक, सिद्धार्थ बैंक, धनगढी
हामीलाई ऋण दिन कुनै समस्या छैन । यद्यपि, हामीले प्रवाह गरेको ऋणको सदुपयोग हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । हामीले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेका छौँ । कर्जाको सहि सदुपयोग गर्न सकियो भने ऋण प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई केही कठिनाई हुँदैन ।
प्राथमिकतामा कृषि र पुनर्निमाण
धर्मराज बिष्ट, प्रबन्धक, सनराइज बैंक
सनराइज बैंकको प्रमुख लगानी क्षेत्र कृषि र पुनः निर्माण रहेको छ । कृषिमा लगानीका लागि हामीलाई केन्द्रीय बैंकले पनि एउटा लक्ष्य नै निर्धारण गरिदिएको छ । कृषि प्रयोजनको लागि सजिलो र सरल तरिकाबाट बैंकले ऋण दिँदै आएको छ । सनराइज बैंकले चालू आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैया कर्जा लगानी गरेको छ भने बैंकले ५० करोड रुपैया निक्षेप सङ्कलन गरिसकेको छ ।
वित्तीय साक्षरतामा जोड
तेजबहादुर थापा, प्रबन्धक, नेपाल एसबीआई बैंक
उत्पादनशील क्षेत्रमा लगानीसँगै हाम्रो बैंकले वित्तीय साक्षरतालाई पनि प्राथमिकता दिएको छ । हाम्रो बैंकले ३५ करोड निक्षेप सङ्कलन गर्दा यहाँ एक अर्ब ४० करोड लगानी गरेको छ । एसविआई बैंकले बाहिरबाट स्रोत ल्याएर पनि यहाँ लगानी गरिरहेको छ ।
उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आवश्यक
मुकुन्द भट्ट, शाखा प्रबन्धक, जनता बैंक लिमिटेड
बैक तथा वित्तीय संस्थाहरुले पर्यटन, उर्जामा समेत लगानी गरिरहेका छन् । हाम्रो बैंकको लगानी पनि कृषि, पर्यटन, उर्जामा बढि छ । प्रदेशको समृद्धिका लागि सबै बैंकर्सहरुले अलिकति साहस गरेर थप लगानी गर्न आवश्यक छ । उत्पादनशील क्षेत्रमा हाम्रो लगानीलाई अझ बढाउन सकियो भने मात्रै प्रदेशको समृद्धिमा टेवा पुग्ने देखिन्छ ।
लगानीका क्षेत्र धेरै छन्
मोहनराज भट्ट, महाप्रबन्धक, नवजीवन सहकारी संस्था लिमिटेड
यो प्रदेशमा सम्भावना धेरै छन् । त्यसैले हामीले लगानी गर्न ठाउँ पनि धेरै छन् । कृषि क्षेत्रमा लगानीसँगै बजारीकरणको वातावरण पनि बनाउन आवश्यक छ । हामीले कृषि क्षेत्रमा लगानी गर्छौँ तर, उत्पादनले बजार पाईराखेको अवस्था छैन । अब बजारीकरणतर्फ पनि बैंक तथा वित्तीय संस्थाको ध्यान जान आवश्यक छ । नवजीवन सहकारीले आफ्नो पाँच शाखाबाट हालसम्म दुई अर्ब २९ करोड रुपैया ऋण लगानी गरेको छ । यसैगरी, दुई अर्ब ५२ करोड रुपैया निक्षेप सङ्कलन गरेको छ ।
लगानीमैत्री वातावरण तयार गर्नेमा प्रतिवद्ध
झपट वोहरा, आर्थीक मामिला तथा योजना मन्त्री, प्रदेश सात
सात नम्बर प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्नेमा म पुर्ण प्रतिवद्ध छु । उद्योग कलकारखानाको स्थापना गरी थप रोजगारीको सिर्जना गर्न सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रहरूको सम्भाव्यता अध्ययन गर्नुको साथै संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ । हाल सञ्चालन भइरहेका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति तथा पूर्वाधार विकास गर्ने नीति प्रदेश सरकारले लिनेछ । सञ्चालनमा ल्याउन सकिने रुग्ण उद्योगहरुलाई पुनःसञ्चालन गर्ने नीति लिएका छौँ । प्रदेश भित्रका महत्वपूर्ण ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक र प्रर्यापर्यटनको प्रवद्धधन, पूर्वाधार विकास गर्ने तयारी गरेका छौँ । खप्तड, रामारोशन, शुक्लाफाँटा, कर्णाली चिसापानीतथा टीकापुर पार्कमा पर्यटन सूचना केन्द्र स्थापना तथा अन्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी गुरुयोजना तयार गर्न आवश्यक बजेट विनियोजन गरिसकेका छौँ । भने खप्तड क्षेत्रमा केवलकार स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने तयारीमा छौँ ।


