May 2nd, 2018

मुनाफालाई नै कम्पनीको वित्तीय अवस्थाको आधार मान्नु अनुचित

सरोजकाजी तुलाधर । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याएपछि धेरै फाइनान्स कम्पनीहरुको अस्तित्व मेटिएको छ । वर्तमान अवस्थामा २५/२६ वटा फाइनान्स कम्पनीहरु छन् । यो संख्या अझै पनि घट्नेछ । निकट भविष्यमा नै फाइनान्सको संख्या १६।१७मा झर्नेछ ।

तरलता समस्या छैन
संख्यात्मक रुपले घटेपनि फाइनान्सहरुको सबलीकरण भइरहेको छ । नेपालको बैंकिङ क्षेत्रमा अहिले तलरताको समस्या देखिएको छ । सीसीडी रेसियो ८० प्रतिशत नाघ्न लागेर बैंकिङ क्षेत्रमा हाहाकार मच्चिन लागेको छ । यस्तो बेलामा फाइनान्स कम्पनीहरु भने आनन्द र सुखका साथ बसिरहेका छौं । फाइनान्सहरुलाई तरलता, सीसीडी रेसियो जस्ता समस्याहरुले छोएको छैन । यसले फाइनान्सहरु सबल र सुरक्षित अवस्थामा रहेको कुरा पुष्टी गर्दछ ।

मुनाफाले कम्पनीको वास्तविक अवस्थाको मूल्यांकन गर्दैन
नेपालमा कुनै संस्थाको अवस्थाको मुल्यांकन मुनाफाको आधारमा गर्ने प्रचलन छ । यो गलत हो । यहाँ कुन संस्था राम्रो छ, कुन सीइओ राम्रो छ छैन भनेर हेर्ने आधार नै मूनाफा भएको छ । बैंक, वित्त संस्थाहरु भनेका लामो समयसम्म वा पुस्तौ पुस्तासम्म चल्ने संस्था हो । यहाँ मूनाफालाई प्रमुख प्राथमिकता दिनु गलत हो । व्यापार व्यवसायमा नाफा तलमाथि हुनु स्वभाविक नै हो । यसलाई फाइनान्सहरुले  राम्रो मुनाफा कमाएनन्, फाइनान्सहरुको अवस्था राम्रो छैन भन्न मिल्दैन । अघिल्लो वर्षको तुलनामा नाफा घटेको देखिए पनि समग्रमा फाइनान्स कम्पनीको अवस्था राम्रो छ ।  

बैंकहरुले भाग खोसेका छैनन्
क र ख वर्गका संस्थाहरुले वित्त कम्पनीहरुको काम÷कारोबार गर्न थालेपछि वित्त कम्पनीहरुको भूमिका खुम्चिएको भन्ने गरिएको छ । यो गलत हो । खुला अर्थनीतिमा बसेर प्रतिष्पर्धाबाट कसैले भाग्नु हुँदैन । फाइनान्सहरु आफैँ सक्षम छन् । फाइनान्स कम्पनीहरुले पनि कमर्शीयल बैंक र डेभलपमेन्ट बैंकको काम गरेका छन् । जसले सकिन्छ ग्राहकलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्ने हो । प्रतिष्पर्धी भएपछि कमर्शीयल बैंकहरुले भाग खोसिदियो भनेर दुःख मान्नुहुँदैन । 

बैंकसँग प्रतिष्पर्धा गर्न सक्षम
फाइनान्स कम्पनीहरु कमर्शीयल र डेभलपमेन्ट बैंकसँग प्रतिष्पर्धा गर्न सक्ने भएका छन् । आज भन्दा डेढ–दुई महिना अघिको ब्याजदरको अवस्था हेर्ने हो भने कमर्शीयल र डेभलपमेन्ट बैंकको भन्दा फाइनान्स कम्पनीहरुको ब्याजदर कम रहेको थियो । यसर्थ कमर्शीयल र डेभलपमेन्ट बैंकसँग प्रतिष्पर्धा गर्न फाइनान्स कम्पनीहरु पूर्ण रुपमा सक्षम छन् । 

उत्पादनशील र अनुत्पादनशील क्षेत्रबारे फरक फरक विश्लेषण
फाइनान्स कम्पनीले अनुत्पादनशील क्षेत्रमा बढी कर्जा प्रवाह गर्छन् भन्ने आरोप पनि आउने गरेको छ । यसका लागि पहिले कस्तो क्षेत्र उत्पादनशील क्षेत्र र कस्तो क्षेत्र अनुत्पादनशील क्षेत्र हो भन्नेबारे स्पष्ट हुनु जरुरी हुन्छ । उत्पादनशील र अनुत्पादनशील क्षेत्रलाई कसरी परिभाषा गर्ने भन्ने आ–आफ्नो तरिका हुन्छ । राष्ट्र बैंकले उत्पादनशील क्षेत्र भनेर जुन परिभाषा गरेको छ, त्यसलाई मात्र उत्पादनशील क्षेत्र मान्न सकिँदैन । जस्तो स्टील इन्डष्ट्रि उत्पादनशील क्षेत्रमा राखिएको छैन भन्दैमा यसलाई अनुत्पादक भन्न मिल्दैन । कसैले कर्जा लिएर कर्जाको ब्याज तिर्छ र बाँकी रहेको रकम बजारमा परिचालन गर्छ भने यसलाई उत्पादनशील क्षेत्र मान्न सकिन्छ । ह्युमन रिर्सोसेजमा होस या विजनेशमा होस्, पूँजी परिचालन गर्नु नै उत्पादन हो । 

हामीलाई पहिले फाइनान्स कम्पनीहरुले हायर पर्चेजमा कर्जा दियो त्यो अनुत्पादक क्षेत्र हो भन्ने आरोप पनि लगाइन्थ्यो । यसको ज्वलन्त उदाहरण के हो भने एउटा शिक्षक काठमाडौंको एउटा विद्यालयमा करारमा पार्ट टाइम पढाउँथ्यो, अनि साझा बस चढेर ललितपुरको अलि भित्र तिर अर्को स्कूलमा पार्ट टाइम पढाउथ्यो । त्यो शिक्षकलाई काठमाडौंबाट ललितपुरसम्म जाँदा बाटामा घण्टौँ समय लाग्थ्यो । हामीले फाइनान्स गरिदिएकै कारण त्यो शिक्षक मोटरसाइकलमा सरर गएर दुबैतिर पढाउन भ्याउँछ  । एकातिर उसको समय बचत, समयको बचत भएपछि पैसाको पनि बचत । हिजो सार्वजनिक बसमा यात्रा गर्दा घण्टाँै समय बर्वाद हुने समयमा उसले अर्को स्कूलमा पार्ट टाइम पढाउन सक्छ । 

अर्को कुरा घरमा गरेको लगानी पनि अनुत्पादक क्षेत्रमा गरिएको लगानी भनिन्थ्यो । त्यो घर बनाएका कारण घर बनाउने मजदुरले रोजगार पाएका छन्, घर बनाउन प्रयोग गरिएको फलामे डण्डीको उद्योगमा कामदारले रोजागारी पाएका छन् । त्यो घरमा प्रयोग हुने सिमेन्ट, गिट्टि लगायतका कारण पनि प्रत्यक्ष रोजगारी पाएको अवस्था छ । यसर्थ यि कुराहरुलाई उत्पादनशील क्षेत्रमा लिने कि नलिने ! 

लगानी डुब्ने खतरा
अनुत्पादनशील क्षेत्रमा गरेको लगानी डुब्ने खतरा हुन्छ भन्ने बुझाई रहेको पाइन्छ । तर, अनुत्पादक वा उत्पादक क्षेत्रमा दिएर कर्जा डुब्ने भन्ने कुरा हुँदैन । कर्जा लगानी गर्नु पूर्व राम्रो बुझेर, कर्जा लिने मान्छेले किन कर्जा लिन चाहेको, कर्जा लगानी गर्नु ठीक छ छैन भन्ने विश्वस्त भएर लगानी गर्ने हो भने कर्जा डुब्दैन । कर्जा दिएपछि जुन कामका लागि दिएको त्यो काममा प्रयोग भएको छ भने झनै डुब्ने खतरा हुँदैन । (गुडविल फाइनान्सका सीईओ तुलाधरसँग गरिएको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]