बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको १७ लाख ९६ हजार ९ सय २ कित्ता शेयर ४ हजार ७ सय पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १० करोड ४८ लाख ८२ हजार १६ रुपैँयाको शेयर कारोबार भएको हो । कारोबार रकम मंगलबारको तुलनामा थोरै बढेको हो । मंगलबार १ अर्ब ७ करोडको कारोबार भएको थियो । कारोबार रकम बढेपनि नेप्से परिसूचक भने बुधबार ओरालो लागेको छ । मंगलबार सामान्य १.१४ अंकले बढेर १४८४.०४ अंकमा बन्द भएको नेप्से बुधबार २.८६ अंकले घटेर १४८१.१८ अंकमा पुगेको छ ।
बुधबार पनि नेपाल बैँकमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । हकप्रद शेयर जारी गरेर चालू आर्थिक वर्षमा नै चुत्तला पुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको बैँकको १६ करोड १० लाख ८७ हजार ५ सय ५८ रुपैँयाको शेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कम्पनि र एनआईसी एसिया बैँकमा पनि लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । यी कम्पनिहरुको क्रमशः ८ करोड र ७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, सिटिजन बैँकको ५ करोडमाथिको कारोबार हुँदा नेपाल बंगलादेश बैँक र नेपाल ग्रामीण विकास बैँकको ४ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्स्योरेन्सको ३करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्स, नविल बैँकको संस्थापक शेयर, सिद्धार्थ इन्स्योरेन्स लगायतको २ करोडमाथिको कारोबार भएको छ ।
सामान्यतयाः कम्पनिहरु फाइदामा गएरको खबरले लगानीकर्ताहरु उत्साहित हुने र घाटामा गएर खबरले निरुत्साहित हुने गरेका छन् । हाल विभिन्न कम्पनिहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिरहँदा धेरै नाफा कमाएका कम्पनिहरुमा लगानीकर्ताको आकर्षण बढेको र कम नाफा गरेको कम्पनिमा लगानीकर्ताको कम आकर्षण रहेको देखिएको छ । त्यस्तै, नेपाल राष्ट्र बैँकको पुँजी वृद्धिको नीतिअनुसार तोकिएकै मितीभित्र आफ्नो पुँजी तोकिएको न्युनतम सीमासम्म पुर्याउन हकप्रद, बोनस र साधारण शेयर निष्काशन गर्ने होडबाजी पनि बढिरहँदा यस्ता कम्पनिहरुमा लगानीकर्ताको बाक्लो आकर्षण देखिएको छ ।
बुधबार बागमती डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नेपाल ग्रामीण विकास बैँक, एनआईडीसी क्यापिटल मार्केट्स र ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.९२ र ९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नेको इन्स्योरेन्स, रिलायन्स लोटस फाइनान्स, नेपाल बैँक, सिद्धार्थ इन्स्योरेन्स लगायतका लगानीकर्ताले पनि कमाएका छन् । गुमाउनेमा कन्ट्री डेभलपमेन्ट बैँक, आईसीएफसी फाइनान्स, सिटिजन्स बैँक, वेस्टर्न डेभलपमेन्ट बैँक, सेती फाइनान्स मिरमिरे माइक्रोफाइनान्स लगायत रहेका छन् ।
वाणिज्य बैँक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले ओरालेको बजारलाई विमा, होटल, विकास बैँक र फाइनान्स समूहले सम्हालेका छन् । सबैभन्दा धेरै विमा समूह ९१.३९ अंकले बढ्दा होटल, विकास बैँक र फाइनान्स क्रमशः १८.३८, ५.६१ र ३.६ अंकले बढेका छन् भने सबैभन्दा धेरै अन्य समूह १४.१ अंकले घट्दा उत्पादनमूलक, वाणिज्य बैँक र जलविद्युत् क्रमशः १३.०३, ८.२४ र ७.४१ अंकले घटेका छन् ।