Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

छ महिनामा नेपाली अर्थतन्त्रको मिश्रित प्रगती, यस्तो छ राष्ट्र बैंकको समीक्षा

२०७४ फाल्गुन २ गते

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएका छन् । नेपाल राष्ट्र बैंकले गैर कृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको बताएको छ । कृषि क्षेत्रको उत्पादन अपेक्षा गरेभन्दा केही कम रहने देखिए तापनि उर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा आएको तिब्रताले गैर कृषि क्षेत्र विस्तारको गति कायम राख्न सहयोग पुर्याइरहेको राष्ट्र बैंकको भनाई छ । बाढीले भू–क्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको भएतापनि पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा भने उल्लेख्य वृद्धि भएको छ । तसर्थ, आर्थिक वर्ष २०७४/७५ मा समग्र आर्थिक वृद्धिदर सन्तोषप्रद रहने राष्ट्र बैंकको तर्क छ । 

मुद्रास्फीति बढ्यो
कृषिजन्य वस्तुहरुको मूल्यमा हुने उतार चढाव र निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको मूल्य प्रवृत्तिले मुद्रास्फीतिको आगामी परिदृष्य निर्धारण गर्ने देखिन्छ । हालसम्म उपभोक्ता मुद्रास्फीति न्यून रहेको तथ्यांक छ । २०७३ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा २०७४ पुस महिनामा ४ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्यान्नको मूल्यमा भएको केही वृद्धिको कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको छ । आपूर्ति अवस्था सुदृढ रहेको र सम्भावित मुद्रास्फीतितर्फ विश्वव्यापी रुपमै ध्यान केन्द्रित भएकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित ७ प्रतिशतको सीमा भित्रै रहने अपेक्षा केन्द्रीय बैंकले गरेको छ । 

निक्षेपको तुलनामा कर्जा विस्तार बढी
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहँदै आएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.९ प्रतिशतले बढेको छ  भने निजी क्षेत्रमा प्रवाहित कर्जा ११.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाहमा आएको कमीको कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले ह्रास भई रु. ३४० अर्ब ५४ करोडमा सीमित भएको छ । निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार आउने छ । 

वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै
वाह्य क्षेत्रतर्फ, चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम् विप्रेषण आप्रवाहमा केही कमी आएकोले चालू खाता घाटामा वृद्धि भई रु. ७५ अर्ब ७१ करोड पुगेको छ । फलस्वरुप, मुलुकको समग्र शोधनान्तर रु. ६ अर्ब ६६ करोडले घाटामा गएको छ । तथापि, देशको वैदेशिक मुद्रा संचिति १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकले जनाएको छ ।