January 21st, 2018

आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न सोही बैंक धाउनु नपर्ने

बैंकिङ खबर । अब आफूलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दे अन्तर बैंक भुक्तानी प्रणाली मार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

हाल सञ्चालनमा रहेको अन्तर बैंक भुक्तानी प्रणाली मार्फत नै ग्राहकहरुले जुनसुकै बैंकमा जम्मा गरेको रकम आफ्नो खाता रहेको बैंकमा पुग्नेछ । नेपाल क्लियरिङ हाउसले हाल अन्तर बैंक भुक्तानी सेवा मार्फत् रकम, लाभांश लगायत ट्रान्सफर गर्न सकिने सुविधा दिइरहेको छ ।

राष्ट्र बैंकले गएको मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत निर्देशन दिएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै आफ्नो खातामा पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएकाले ग्राहकहरुले सहज अनुभव गर्नेछन् ।