January 1st, 2018

निर्धन उत्थान बैंकद्धारा ‘सफा दूग्ध उत्पादन तथा विविधिकरण तालिम’को आयोजना 

निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुको सहभागितामा तीन दिने “ग्राहक सदस्यहरुको लागि सफा दूग्ध उत्पादन तथा विविधिकरण तालिम संचालन गरेको छ । पुस १६ गते आइतबारदेखि बीरगञ्जमा सुरु भएको तालिम १८ गते मंगलबारसम्म चल्नेछ । तालिममा पर्सा जिल्लाका परवानीपूर शाखा र बिरगंज शाखा तथा बारा जिल्लाका प्रसौनी शाखा र कलैया शाखाका २५ जना ग्राहक सदस्य तथा अभिभावकहरु सहभागी छन् । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा सफा दूग्ध उत्पादन तथा विविधिकरण तालिम संचालन गरेको बैंकका बिरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमूख श्री बिष्णू प्रसाद पराजूलीले बताए ।

तालिमका प्रशिक्षक डा. ईन्द्र नारायण शाहले दूधको बनावट, चारित्रिक गूण तथा यसको महत्वका बारेमा बताए । सफा दूग्ध उत्पादन र दूधको गूणस्तर परीक्षण गर्ने विधिहरु, दूधको उत्पादन लागत घटाउने उपायहरु, दूध तथा दूग्ध पदार्थको न्युनतम गूणस्तरका बारे उनले जानकारी गराए । त्यस्तै, सफा दूग्ध उत्पादनमा डेरी उपकरणको सरसफाईको महत्व, क्रिम सेपरेसन बारेमा पनि उनले जानकारी दिए भने पाश्चूराईजेशन, ब्याच पाश्चूराईजेशन र प्याकेजिङ्ग, मख्खन, नौनी, बटर र घिउ उत्पादन विधि, दूध तथा दूग्ध पदार्थको भण्डारण, विभिन्न क्षमताका दूग्ध ब्यवसायको लागि आवश्यक मेशिनरी, औजार तथा लागत मुल्य, खूवा र आईस क्रिम उत्पादन प्रविधि, लस्सी उत्पादन प्रविधि, जिरा मोही बनाउने विधि, गुदपाक उत्पादन प्रविधि र पूष्टकारी उत्पादन प्रविधि, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिट लगायतका विषयमा डा. शाहले प्रशिक्षण दिए ।