December 25th, 2017

एनएमबि माइक्रोफाइनान्सका अध्यक्षद्धारा शपथ ग्रहण

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितीमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोन लामाले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष लामाले नेपाल राष्ट्र बैंकका प्रवक्ता एवम् बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ मा बैंक तथा वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान रहेको छ ।

वित्तीय संस्थाको मिति २०७४/८/१५ गते पोखरामा सम्पन्न ५औं वार्षिक साधारण सभाबाट पुनःनिर्वाचित भएका भ्लोनलाई वित्तीय संस्थाको मिति २०७४/०९/०३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको थियोे । 

उक्त शपथ ग्रहण कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्यप दाधिकारीहरु लगायत वित्तीय संस्थाका सञ्चालकहरु तथा कम्पनी सचिवको उपस्थिति रहेको थियो ।

कास्कीको पोखरास्थित लेखनाथ महानगरपालिका वडा नं. २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो । यसको कार्यक्षेत्र हाल राष्ट्रिय स्तरको रहेको छ । एनएमबि माइक्रोफाइनान्सले हाल ७५ वटा शाखा तथा उपशाखाहरु मार्फत ६१,८७० जना महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।