२०७४ मंसिर २५ गते

पहिलो त्रैमासमा घाटा व्यहोरेका एक दर्जन वित्तीय संस्थाहरु

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको छ । १२ वटा वित्तीय संस्था नोक्सानमा रहेका छन् । जसमा, दुई वटा विकास बैंक, सात वटा फाइनान्स कम्पनी र तीन वटा लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

साहारा विकास बैंक लिमिटेड
साहारा विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि यो बैंक २३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सात करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा पाँच दशमलव ६४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ४४ दशमलव ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ०९ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात वार्षिक २८ दशमलव ६० गुणा नेगेटिभ, प्रतिसेयर नेटवर्थ एक सय ५५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ४० दशमलव ५२ प्रतिशत रहेको छ ।

सहयोगी विकास बैंक लिमिटेड
सहयोगी विकास बैंक लिमिटेड एक करोड एक लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले एक करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ४२ करोड ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ४६ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ३६ दशमलव ०५ गुणा रहेको छ भने जोखिमयुक्त सम्पति १९ दशमलव २४ प्रतिशत र निष्कृय कर्जा दुई दशमलव ८२ प्रतिशत रहेको छ । 

सिर्जना फाईनान्स लिमिटेड
सिर्जना फाईनान्स लिमिटेड दुई करोड एक लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने एक करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३० करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ४४ गुणा र प्रतिसेयर नेटवर्थ १५३ दशमलव ४४ रुपैयाँ छ ।

युनाइटेड फाइनान्स लिमिटेड
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा युनाइटेड फाइनान्स लिमिटेडलाई तीन करोड ४५ लाख तीन हजार रुपैयाँ नोक्सानी भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले एक करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ६७ करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको प्रतिसेयर आम्दानी २० दशमलव ५२ रुपैयाँ नेगेटिभ, पुँजीकोषको लागत नौ दशमलव २३ प्रतिशत,  प्रतिसेयर नेटवर्थ १४८ दशमलव ६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात नकारात्मक १२ दशमलव ७२ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९९६ रुपैयाँ ०१ पैसा र तरलता अनुपात २५ दशमलव ३५ प्रतिशत रहेको छ । फाइनान्सको निष्कृय कर्जा एक दशमलव २६ प्रतिशत रहेको छ । 

सिनर्जी फाइनान्स लिमिटेड
सिनर्जी फाइनान्स लिमिटेड तीन करोड नौ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको ५३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थिायो । ४७ करोड ४४ लाख रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सको खराबकर्जा २१ दशमलव चार प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी छ रुपैया ५२ पैसा नेगेटिभमा रहेको छ । 

जेविल्स फाइनान्स लिमिटेड
पहिलो त्रैमासमा जेविल्स फाइनान्सले २५ लाख ७० हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ३९ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३८ करोड ६३ लाख रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सको खराबकर्जा तीन दशमलव ४५ प्रतिशत रहेको छ । 

रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्सले पहिलो त्रैमासमा दुई करोड ७१ लाख ५४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ३१ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ५१ करोड रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सको खराबकर्जा ३.०३ प्रतिशत रहेको छ । 

प्रोग्रेसिभ फाइनान्स लिमिटेड
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड नौ लाख ५३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । २१ करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको खराब कर्जा २.४४ प्रतिशत रहेको छ । 

गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्सले तीन करोड ६२ लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । ८२ करोड ५५ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको खराब कर्जा चार दशमलव ९३ प्रतिशत रहेको छ । 

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड २१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जबकी गत वर्षको सोहि अवधिमा कम्पनीले चार लाख रुपैयाँ नाफामा रहेको थियो । चार करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा तीन दशमलव ८६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ७९ प्रतिशत रहेको छ । 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा पनि आशा १७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सात करोड रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत र पूँजीकोष अनुपात आठ दशमलव ५१ प्रतिशत रहेको छ ।

सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड
सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड २५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमसमा सबैको लघुवित्तले १५ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको निष्कृय कर्जा शुन्य रहेको छ भने पूँजीकोष अनुपात ७८ दशमलव ८० प्रतिशत रहेको छ ।