शिखर इन्स्योरेन्सले २०७३ बैशाख २३ गते जुम्लाबाट एक औपचारीक कार्यक्रममार्फत मौसममा आधारीत स्याउ खेती बिमाको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहयोगमा नेपालमै पहिलोपटक स्याउ खेती गर्ने जुम्लाका किसानलाई लक्षित गरेर मौसम सूचकांकको आधारमा बिमा शुरु गरेको हो । यसअन्तर्गत, मध्य चैतदेखि मध्य ज्येष्ठसम्म ६० मिमिभन्दा कम बर्षात् भएमा भने बिमा गरेका किसानले स्वतः क्षतिपुर्ति पाउने छन् । साथै असिनाबाट परेको क्षतिको पनि बिमा गरिनेछ । जल तथा मौसम विज्ञान विभागको जुम्ला शाखाको तथ्याकंलाई आधार मानेर कम्पनिले क्षतिपुर्ति दिने गर्दछ । बीमा अवधिमा जति कम बर्षात हुन्छ त्यहिअनुसार क्षतिपुर्ति रकम बढ्ने गर्दछ । कृषकले मौसमी बीमाको लागि सरकारी अनुदान कटाएर बीमाङ्क रकमको २% र असिनाको क्षतिको बीमाको लागि लागत मूल्यको ०.२५% प्रिमियम तिर्नु पर्दछ ।
स्याउ खेतीका कृषकहरुले समयमा बर्षात नहुदाँ फुल कम लाग्ने र स्याउको उत्पादन कम हुने समस्या व्यहोरिरहेका छन् । साथै असिनाको कारणले पनि स्याउ उत्पादन कम हुने र कम गुणस्तरको स्याउ फल्ने जस्ता समस्याले समेत किसानहरुलाई पिरोलिरहेको छ । किसानको यसै पिडालाई मध्यनजर गर्दै शिखरले सक्षमसगँको सहकार्यमा मुस्ताङ, मुगु, कालिकोट र डोल्पामा समेत मौसममा आधारीत स्याउ खेती बीमाको विस्तार गर्ने योजना गरेको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता शिखरका अध्यक्ष विकाश शमशेर जबराले गरेका थिए । उक्त कार्यक्रममा बिमा समितिका अध्यक्ष प्रो. डा. फत्तबहादुर केसी, बिमा समितिका निर्देशक श्रीमान कार्की, बेलायती अन्तराष्ट्रिय विकास नियोग (DFID Nepal) का प्रतिनिधि रवि रायमाझि, सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमका टिम लिडर बलजित बोहरा, जिल्ला कृषि कार्यालयका बाली संरक्षण अधिकृत बालाराम देवकोटा, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, स्याउ किसान लगायत जिल्लाका अन्य संंघ संस्थाको सहभागिता थियो ।