रुपा कोइराला/बैंकिङ खबर । नेपालमा बैंकिङ प्रविधिको विकासले फड्को मारिरहेको छ । पछिल्लो केही समय यता नै थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरु नेपालको बैंकिङ क्षेत्रमा भित्रिएको छ । प्रविधिका कारणले बैंकिङ कारोबारमा निकै सहजता आएको छ । बैंक खाता खोल्नदेखि लिएर सेयर कारोबारसम्म घरमै बसेर गर्न सकिने सुविधा बैंकिङ प्रविधिहरुले उपलब्ध गराएका छन् । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा भित्रिएका केही नविनतम प्रविधिहरुका बारेमा यहाँ चर्चा गरिन्छ :
आस्वा प्रणाली
चालू आर्थिक वर्षदेखि प्राथमिक सेयर निष्काशनका अनिवार्य गरिएको आस्वा प्रणालीका कारण सेयरमा आवेदन दिनत सहज भएको छ । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिने छन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ ।
सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ ।
सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।
अनलाईन आस्वा प्रणाली
आस्वा प्रणाली अनिवार्य भएलगत्तै बैंकहरुलाई अनलाइनबाटै आस्वा सेवा दिन सुरु गरे । अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।
भाइबर बैंकिङ
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्ने बैंकले जनाएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।
मल्टि करेन्सी कार्ड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्सिस बैंक अफ इन्डियासँगको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टि करेन्सी कार्डको सुरुवात गरेको छ । मल्टि करेन्सि कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने छन् । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई राहत मिल्ने र अमेरिकी डलर गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा चोरी जस्ता जोखिमलाई समेत न्युनिकरण गर्ने विश्वास लिइएको छ । यो सेवा सुचारु भएसँगै अब नेपाल र भारतमा रेमिट्यान्स सेवा सरल र प्रभावकारी हुने र विभिन्न १६ राष्ट्रमा नोटको समस्या नहुने भएको छ । मल्टि करेन्सी कार्डको प्रयोग गरी डलर कार्ड बोक्नुपर्ने बाध्यता र बिदेशी मुद«ा विनिमयमा मुलुकलाई भइरहेको घाटा न्युनिकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
अनलाइन बैंक खाता
गत साता मात्रै तीन वटा बैंकले अनलाइन बैंक खाता संचालनमा ल्याएका छन् । सुरुमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा ल्याएको थियो । त्यसपछि क्रमशः सनराइज बैंक लिमिटेड र ग्लोबल आईएमई बैंकले पनि यो सुविधा प्रदान गरेका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले बैंकहरुले उक्त बचत खाता संचालनमा ल्याएका हुन् । अनलाइन बचत खाताअन्तर्गत ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । अनलाइनबाट बैंक खाता खोल्ने सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ ।