२०७४ कार्तिक २२ गते

एनएमबि माइक्रोफाइनान्सद्धारा लघुवित्त अभिमुखीकरण तालिमको आयोजना

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले २ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गरेको छ । संस्थाले फिल्डमा कार्य गर्ने प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी ज्ञान दिलाउने र फिल्ड काम गर्न दक्ष बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरेको जनाएको छ । वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधवार एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाको बारेमा प्रकाश पारे । उनले लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा संचालन हुँदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएतापनि नेपालको कुनै पनि विद्यालय, विश्वविद्यालयहरुको शैक्षिक पाठ्यक्रममा यसको अध्ययन अध्यापन हुन नसकेकोले यस सम्बन्धमा सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने विचार ब्यक्त गरे । लघुवित्त कार्यक्रम एक सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारीहरुको अन्तरआत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने उनको धारण थियो ।

उनले लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लघुवित्त सम्बन्धी ज्ञानको साथसाथै अन्य विषयहरुको पनि चौतर्फी ज्ञान, सीप र दक्षता हुनुपर्ने देशमा भईरहेका नयाँ घटना तथा जानकारीमुलक कुराहरु, सान्दर्भिक लेख रचनाहरु लगायतका कुराहरुमा अपडेट हुन समेत आग्रह गरे । तालिम, गोष्ठी र कार्यक्रम कर्मचारीको ब्यक्तित्व विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय समयमा तालिम आवश्यक रहेको कुरा वताए । त्यसै गरी हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा उनले जोड दिए ।

तालिममा  वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने बताइएको छ ।

कार्यक्रममा ३५ जना नयाँ प्रशिक्षार्थीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।